लुम्बिनी प्रदेश सभा: सरकार र प्रतिपक्षीबीच सहमति
बैठक बहिष्कार गरेर बाहिरिएको एमालेसँग मुख्यमन्त्री चौधरी र सभामुख तुलाराम घर्तीले वार्ता गरेर सहमति जुटाएका हुन्।
लुम्बिनी प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेको बजेटका विषयमा असहमत प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र सरकारबीच सहमति भएको छ। बजेटमाथि असहमति जनाएर लगातार सदन अवरुद्ध गर्दै आएको एमालेले प्रदेश सभाको मंगलबार बसेको दोस्रो बैठकमा पनि विरोध जनाएको थियो।
गए राति भने दुवै पक्षबीच वार्ता भएको थियो। दुवै पक्षबीच राति भएको वार्तामा विपक्षी दलले उठाएका विषय मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेश सभामा सम्बोधन गर्ने र विपक्षीले पनि आजदेखि प्रदेश सभाको बैठक सञ्चालन गर्न दिने सहमति भएको लुम्बिनी प्रदेशका एमाले प्रमुख सचेतक तुलसी चौधरीले जानकारी दिए।
बैठक बहिष्कार गरेर बाहिरिएको एमालेसँग मुख्यमन्त्री चौधरी र सभामुख तुलाराम घर्तीले वार्ता गरेर सहमति जुटाएका हुन्। वार्तामा विपक्षी दलका नेता लीला गिरी, उपनेता चेतनारायण आचार्य र प्रमुख सचेतक चौधरी सहभागी थिए।
सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच सहमति भएपछि मंगलबार स्थगित प्रदेश सभा आजका लागि बोलाइएको छ। प्रदेश सभा सचिव दुर्लभकुमार पुनमगरले मंगलबार स्थगन भएको प्रदेश सभाको दोस्रो अधिवेशनको १७औं बैठक आज दिउँसो १ः०० बजेका लागि बोलाइएको सूचना जारी गरेका छन्।
सभामुखको निर्देशन अनुसार प्रदेश सभा नियमावलीको नियम १२ को उपनियम ३ बमोजिम बैठक बोलाइएको सूचनामा उल्लेख छ।