दुई हप्तामै जडान भयो भुरुङ खोलामा बेलिब्रिज
भुरुङ खोलामा हालै आएको बाढीले त्यहाँ रहेको कल्भर्ट बगाएपछि मुस्ताङको लेते खोलामा रहेको बेलिब्रिजलाई भुरुङ खोलामा स्थानान्तरण गरिएको हो।
मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अन्तर्गत भुरुङ खोलामा दुई हप्तामै बेलिब्रिज जडान गरिएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका-२ मा पर्ने भुरुङ खोलामा करीब रु.३५ लाखको लागतमा ३० मिटर लामो बेलिब्रिज जडान भएको बेनी–जोमसोम–कोरला सडक आयोजना प्रमुख जगत् प्रजापतिले बताए।
मुस्ताङको लेते खोलाको बेलिब्रिजलाई भुरुङ खोलामा स्थानान्तरण गरिएको हो।
“भुरुङ खोलामा हालै आएको बाढीले त्यहाँ रहेको कल्भर्ट बगाएको थियो,” प्रजापतिले भने, “बर्खायाममा बाढी आउँदा पनि बेनी–जोमसोम सडकमा यातायात सञ्चालनमा समस्या आउन नदिन तत्कालै बेलिब्रिज राखिएको हो।”
असार पहिलो साता शुरू गरिएको बेलिब्रिज जडानको काम सकिएर यातायातका साधन आवतजावत गर्न थालेका अन्नपूर्ण गाउँपालिकाका कार्यपालिका सदस्य वीरबहादुर पौडेलले जानकारी दिए। “कल्भर्ट बगाएपछि भुरुङ खोलामा बाढी आउँदा सवारीसाधन आवतजावत अवरुद्ध हुने समस्या थियो,” उनले भने, “म्याग्दी र मुस्ताङका बासिन्दाका साथै पर्यटक र तीर्थयात्री समस्यामा परेका थिए। बेलिब्रिज सञ्चालन भएपछि सहज भएको छ।”
लेते खोलामा पक्की पुल बनेपछि त्यहाँको बेलिब्रिजको सामान सडक डिभिजन कार्यालय पोखरा लगिएको थियो। पोखराबाट बेलिब्रिजको पाटपुर्जा ल्याएर भुरुङ खोलामा राखिएको हो। -रासस