भारतले जित्यो साफ च्याम्पियनशिपको उपाधि
पेनाल्टी शूटआउट पनि बराबरी भएपछि खेल ‘सडन डेथ’ मा पुगेको थियो। त्यसमा कुवेतका कप्तानको प्रहार भारतीय गोलकिपरले रोकेपछि भारत विजयी भएको हो।
साफ च्याम्पियनशिपको उपाधि भारतले जितेको छ। गएराति सम्पन्न फाइनल खेलमा कुवेतलाई पेनाल्टी शूटआउटमा ५-४ गोलअन्तरले पराजित गर्दै भारतले उपाधि हात पारेको हो।
पहिलो हाफमा दुवै टोलीले १-१ गोलको बराबरी खेले। कुवेतका लागि शबिब अल खलिदीले १४औं मिनेटमा गोल गरेका थिए। त्यसपछि भारतका लागि खेलको ३८औं मिनेटमा लल्लियानजुआला छाङ्तेले गोल गर्दै खेल १-१ को स्थितिमा पुर्याए।
दोस्रो हाफमा दुवै टोली गोल गर्न असमर्थ रहे। त्यसपछिको अतिरिक्त ३० मिनेटको समयमा पनि गोल हुन नसकेपछि खेल पेनाल्टी शूटआउटमा प्रवेश गर्यो।
पेनाल्टी शूटआउटमा पनि दुवै टोलीले ४-४ गोल गरेपछि खेल ‘सडन डेथ’ मा पुग्यो। अन्तिममा कुवेतका कप्तान खालिद हाजियाले गरेको प्रहार भारतका गोलकिपर गुरप्रित सिंह सान्धुले रोकेपछि भारत ५-४ गोलअन्तरले विजयी भएको थियो।
योसँगै भारत नवौं पटक साफ च्याम्पियनशिपको उपाधि विजेता भएको हो।