नेपाल टेस्ट राष्ट्रसँग फेरि पराजित, आयरल्यान्ड विजयी
आईसीसी एकदिवसीय विश्वकप छनोटको प्लेअफमा नेपाल टेस्ट मान्यता प्राप्त आयरल्यान्डसँग पराजित भएको छ।
जिम्बावेमा जारी प्रतियोगिता अन्तर्गत मंगलबार आयरल्यान्डलाई दुई विकेटले नतीजा सुम्पिएसँगै नेपाल आठौं स्थानमा सीमित भएको हो। यसअघि टेस्ट मान्यता प्राप्त वेस्ट इन्डिज र जिम्बावेसँग नेपाल पराजित भएको थियो।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभर खेलेर नौ विकेटको क्षतिमा जम्मा २६८ रन जोड्यो।
आयरल्यान्डले आठ विकेटको क्षतिमा चार बल बाँकी छँदै विजयी लक्ष्य पूरा गर्यो।२००७, २०११ र २०१५ विश्वकप खेलेको आयरल्यान्डले २०१७ मा टेस्ट राष्ट्रको मान्यता पाएको थियो।
शुरूमै धरमराएको नेपालको ब्याटिङ लाइन गुल्सन झा र सन्दीप लामिछानेले सम्हालेका थिए। ८० रनको साझेदारी गर्दै गुल्सनले ५७ र सन्दीपले ३२ रन जोडे। अर्जुन साउदले ४८, कुशल मल्लले ४४, रोहित पौडेलले २९ र भीम सार्कीले २० रनको योगदान दिए।
समूह ‘ए’ को चौथो स्थानमा रहेको नेपालले समूह ‘बी’ को पाँचौं स्थानमा रहेको यूएईलाई ‘प्लेअफ’ मा पराजित गर्दै आयरल्यान्डसँगको भेट पक्का गरेको थियो। नेपालले यूएईलाई तीन विकेटले हराएको थियो।
सुपर सिक्समा छनोट हुन जित्नैपर्ने खेलमा नेदरल्यान्ड्स विरुद्ध नेपालले बिर्सनलायक प्रदर्शन गर्यो। खासगरी, ब्याटरहरू चल्नै सकेनन्। असार ९ मा नेपालले ४४.३ ओभरमा सबै विकेट गुमाएर जम्मा १६७ रन बनाएको थियो। नेपालले प्रस्तुत गरेको १६८ रनको लक्ष्य नेदरल्यान्ड्सले २७.१ ओभरमा तीन विकेटको क्षतिमा सहजै पूरा गर्यो।
टेस्ट राष्ट्र विरुद्ध पहिलो पटकको भेटमा नेपाल जिम्बावेसँग आठ विकेटले पराजित भयो। नेपालले सबै ओभर खेलेर आठ विकेट गुमाउँदै २९० रन जोडेको थियो। जिम्बावे विरुद्ध कुशल भुर्तेलले ९५ बलमा ९९ रन जोडेका थिए।
टेस्ट राष्ट्र विरुद्धको आफ्नो दोस्रो खेलमा नेपालको प्रतिस्पर्धी थियो, वेस्ट इन्डिज। टस जितेको नेपालले फिल्डिङ रोज्यो। ३४० रनको विजयी लक्ष्य पछ्याएको नेपाल वेस्ट इन्डिजसँग १०१ ले पराजित भयो। ४९.४ ओभरमा सबै विकेट गुमाउँदा नेपालको खातामा जम्मा २३८ रन पुग्यो।
समूह ‘ए’ मा रहेको नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो।