‘पर्याप्त साधन स्रोत पाएका बालबालिकाको विकासको जग एकदमै कमजोर छ’
‘मोबाइलको लत बस्न नदिन बच्चाका अघि त्यस्ता सामग्री नै चलाउन हुन्न। बरु बाहिरी खेलकूदमा संलग्न गराउनुपर्छ। प्रकृति, धूलो, माटो, हिलोमा छाडिदिनुपर्छ। खेल भनेको काम वा पढाइको विकल्प होइन।’
शिक्षाविद् मीनाक्षी दाहाल लामो समयदेखि बालविकासको क्षेत्रमा कार्यरत छिन्। काठमाडाैं विश्वविद्यालयमा ‘भिजिटिङ प्रोफेसर’ रहेकी दाहालसँग बालबालिकाको हुर्काइबढाइ, शिक्षा, विकास र सुरक्षामा केन्द्रित भई हिमालखबरका लागि अनिता भेटवालले गरेको अन्तर्वार्ताको सम्पादित अंश:
शिशुको सिकाइ प्रक्रिया कहिलेदेखि र कसरी शुरू हुन्छ?
शिशुको विकास र सिकाइ फरक फरक कुरा हुन्। शारीरिक स्वास्थ्यसँग सम्बद्ध मांसपेशी, ज्ञानेन्द्रिय आदिको विकास गर्भावस्थामै शुरू हुन्छ। शारीरिक विकास राम्रो भएको बालबालिकाको सिकाइ पनि राम्रो हुँदै जान्छ। विकास र सिकाइका हिसाबले गर्भावस्थादेखि आठ वर्षसम्मको उमेर निकै संवेदनशील मानिन्छ। मस्तिष्क बन्ने क्रम त्यही वेला शुरू हुन्छ।
दूध चुस्नेदेखि खान खोज्नेसम्मका क्रियाकलाप सिकाइ नै हुन्। बच्चाले अनुभवबाट पनि सिक्छ। अनुभव गर्ने कुरा ज्ञानेन्द्रियसँग सम्बद्ध हुन्छ। ज्ञानेन्द्रियको प्रयोग जति हुन्छ, मस्तिष्क निर्माण उति तीव्र हुन्छ।
विद्यालय पठाउने सही उमेर कुन हो?
हामी बालबच्चा छिटोभन्दा छिटो विद्यालय जाऊन् भन्ने चाहन्छौं। क-ख र ए-बी-सी-डी चिन्नुलाई नै सिकाइ ठान्छौं। जबकि ती बारम्बार घोकाउँदा स्मरणमा बसेका कुरा मात्र हुन्। खास सिकाइ त हामी उनीहरूसँग कति घुलमिल हुन्छौं, उनीहरूले वस्तु छाम्ने, सुँघ्ने जस्ता ज्ञानेन्द्रिय सक्रियताका अभ्यास कति गर्न पाएका छन् भन्नेमा निर्भर हुन्छ। अभिभावकहरू आफ्नो सुविधाका हिसाबले ६ देखि १८ महीनाकै बीचमा छोराछोरीलाई शिशु स्याहार केन्द्र पुर्याइरहेका हुन्छन्।
विद्यालय पठाउने निश्चित उमेर छैन। मुख्य कुरा हाम्रा बालविकास वा शिशु स्याहार केन्द्रहरूले बालबालिकालाई उपयुक्त वातावरण दिन सक्छन् कि सक्दैनन् भन्ने हो। शरीरसँगै बौद्धिक, भाषिक, भावनात्मक र सामाजिक सीपको पनि विकास हुने वातावरण हुनुपर्छ।
पढ्न पठाइएको ठाउँमा एक शिक्षकले कति बालबालिका हेरिरहेछन्, पर्याप्त समय दिन सकेका छन/छैनन् भन्ने पनि हेर्नुपर्छ। शैक्षिक संस्थालाई कुन उमेरकालाई कस्ता सामग्री दिने, कसरी बुझाउने भन्नेसम्मका कुरा थाहा हुनुपर्छ। यस्तो वातावरण भएका विद्यालयमा छोराछोरीलाई जति वेला लगे नि फरक पर्दैन। तर, ए-बी-सी-डी मात्र सिकाउन चाहिं हतारिनु जरुरी छैन।
घरमै सिकाउने वातावरण भए चार वर्ष पुगेपछि मात्र विद्यालय भर्ना गर्नु ठीक हुन्छ। किनकि बाबुआमाले दिनभरि छाडिदिंदा उनीहरूको भावनामा असर पर्छ। यसलाई ‘सेपरेसनल एन्जाइटी’ (छुट्टिनुको डर) भनिन्छ।
मोबाइल, ल्यापटपसँगको हेलमेलले बालबालिकामा कस्तो असर परिरहेको छ?
बच्चालाई खाना खुवाउने, सुताउने, लुगा फेराउने, फकाउनेसम्मका सीप अभिभावकमा हुनुपर्छ। तर, छोराछोरी हुर्काउने मामिलामा पढेलेखेका र राम्रै आर्थिक आम्दानी भएकाहरूमा पनि समस्या देख्छु। उनीहरूले बालबालिकालाई देखाउने माया प्राविधिक जस्तो मात्र छ। बच्चालाई चाँडो खुवाउन सामान किनिदिने लोभ देखाउँछन्। मोबाइल-टीभीमा भुलाउँछन्। तर, खानाको स्वादका कुरा गर्दै त्यसैमा उनीहरूको ध्यान केन्द्रित गरेर खुवाए शारीरिक ग्रन्थिहरू चलायमान् हुन्छन्।
मोबाइल वा ल्यापटप देखाउँदै खुवाएको खानाले आवश्यक रसायन नै पैदा गर्दैन। तब शरीरमा पोषण पनि लाग्दैन। अहिले शहरमा कुपोषित हुनेको संख्या यसरी नै बढिरहेछ। खाना कथा सुनाउँदै पनि खुवाउन सकिन्छ। यसमा समय बढी लाग्ला, तर बच्चाले आत्मीयता महसूस गर्छ।
मोबाइलको लत बस्न नदिन बच्चाका अघि त्यस्ता सामग्री नै चलाउन हुन्न। बरु बाहिरी खेलकूदमा संलग्न गराउनुपर्छ। प्रकृति, धूलो, माटो, हिलोमा छाडिदिनुपर्छ। खेल भनेको काम वा पढाइको विकल्प होइन। खेल्दाखेल्दै पढ्ने र सिक्ने हो। सामूहिक खेलले सामाजिकीकरण र संवेगात्मक विकास गराउँछ। रिस कम गराइदिन्छ। आफू पनि बच्चासँग खेलिदिनुपर्छ। तब उसलाई मोबाइलभन्दा प्यारो आमाबुबा नै लाग्छन्।
विकसित देशमा बच्चा कसरी हुर्काउने भनेर गर्भवती हुँदादेखि नै आमालाई तालीम दिइन्छ। तर, हाम्रोमा स्याहारको तालमेल मिलिरहेको हुँदैन। घरी आफैं बालबालिकालाई मोबाइल दिन्छौं, घरी आफैं किन चलाएको भनेर पिट्छौं। यसले बालबालिका अलमलमा पर्छन्।
अहिले बालबालिकामा जिज्ञासुपन कमजोर भएको गुनासो सुनिन्छ। जिज्ञासु बनाउने कसरी?
यसका लागि विकासका पाँच वटा पक्ष बुझ्नुपर्छ।
पहिलो, बौद्धिक विकास। यो भनेको बालबालिका जिज्ञासु हुने, प्रश्न गर्ने, समस्याको समाधान गर्ने, एकाग्र हुने अथवा कुनै कुराको विकल्प दिन सक्ने हुनु हो। बौद्धिक क्षमता निर्माणमा गर्भमा सुनेका कुरासँगै जन्मेपछि पाउने अनुभवले पनि भूमिका खेल्छ।
दोस्रो पक्ष हो, शारीरिक विकास। यसमा पोषणको कुरा आउँछ। शारीरिक विकासमा सूक्ष्म मांसपेशी, स्थूल मांसपेशी र ज्ञानेन्द्रिय पर्छन्। यी तीन कुराको सन्तुलित विकास भए बच्चा उपयुक्त तौल सहित जन्मन्छ। यसमा आमाले गर्भावस्थामा खाएको खाना कस्तो छ भन्ने कुरा जोडिएको हुन्छ।
तेस्रो पक्ष- सामाजिक विकास। यसले समूहमा मिल्ने, खेल्ने, लिने-दिने, आफ्नो कुरा राख्न सक्ने सीप बढाउँछ।
चौथो, संवेगात्मक विकास जुन आत्मविश्वास र आत्मसम्मानसँग सम्बद्ध छ। बालबालिकाले पनि प्रशंसा खोज्छन्, नपाए दुःखी हुन्छन्। तिनले आफ्ना संवेग र भावना कसरी प्रकट गर्छन्, त्यसमा हामीले कस्तो प्रतिक्रिया जनाउँछौं भन्ने कुराले संवेगात्मक विकासमा असर पर्छ।
पाँचौं भनेको भाषिक विकास हो। बच्चाले गर्भदेखि नै जस्तो भाषा सुन्छ, त्यही टिप्न थाल्छ। त्यसै अनुसार भाषिक क्षमता विकास हुँदै जान्छ। गर्भमा छँदैदेखि यी पाँच कुरा ध्यान दिइए बालबालिका जिज्ञासु हुन्छन्।
जन्मिएपछिको माहोल चाहिं कस्तो हुनुपर्छ?
हामी बालबालिकालाई सुन्नुभन्दा बढी सिकाउन थाल्छौं। यसो गर्दा उसले जिज्ञासा राख्नै पाउँदैन। दुई-तीन वर्षको उमेर लागेसँगै यो के हो, किन खाने जस्ता अनेक प्रश्न हुन्छन्। हामी पहिल्यै उत्तर भनिदिएर उसको कौतूहल रोकिदिन्छौं। केरालाई ‘बनाना’ भन्न लगाउँछौं। त्यसको साटो ‘ल अब हामी केरा खाने, थाल ल्याऊ, यो बाबाको थाल, यो आमाको थाल, यो तिम्रो है’ भनेर बुझाउनु राम्रो हुन्छ। यसरी चिनाएपछि ‘दिस इज प्लेट’ भनेर सिकाइराख्न जरुरी छैन। अभिभावकले अंग्रेजी र नेपाली भाषामा छ्यासमिस पारेर बोलिदिंदा बालबालिकाको भाषा पनि बिग्रँदै छ।
अर्कातिर उसले बोल्न वा प्रश्न गर्न थाल्दा हामी अरूलाई सुनाएर मजाक बनाइदिन्छौं। यसले बच्चाको आत्मसम्मान कमजोर हुन थाल्छ। जबकि यो भनेको बच्चाले ‘म गर्न सक्छु’ भन्ने धारणा बनाउने, आत्मविश्वास बढाउने वेला हो। पाहुना आएको वेलामा उसको इच्छा विपरीत नाच भनिदिन्छाैं। त्यसलाई उसले सहज मानेको छ कि छैन, विचार गर्दैनौं।
यसले गर्दा बच्चा लजालु हुँदै जाने, प्रश्न नगर्ने हुन थाल्छ। जिज्ञासु बनाउने हो भने उसलाई खुला छाडिदिनुपर्छ। जब उसले कुनै कुरा गर्छ, त्यसो गर्दा के भयो भनेर सोध्ने गर्नुपर्छ। उत्तर दिने बानीको विकास गराउनुपर्छ।
अभिभावकले भविष्यमा काम लाग्ने भन्दै बालबच्चाले रुचि नदेखाएको क्षेत्रमा पनि जबर्जस्ती संलग्न गराउनु कत्तिको उचित हो?
रुचि समय अनुसार परिवर्तन हुँदै जाने हो। भित्रैदेखि गडेको कुरा चाहिं पछिसम्मै पनि रहन सक्छ। बच्चाहरू दुई-तीन वर्षको उमेरदेखि साथीहरूको देखासिकी गर्न थाल्छन। मन पर्ने मान्छेलाई ‘रोल मोडल’ बनाएर त्यसै अनुसार हिंडाइ, बोलाइ अपनाउँछन्। तर, भविष्य हेरेर अहिले नै उसको रुचि निर्धारण गरिनु हास्यास्पद छ। अबको १० वर्षपछि कस्तो जनशक्ति र विज्ञता चाहिन्छ भन्ने थाहा हुँदैन।
पाँच वर्षअघि जुन विषयको माग थियो, अहिले नहुन सक्छ। तर, केही आधारभूत सीप महत्त्वपूर्ण छन्। बच्चामा सिक्न तयार हुने, सहकार्य गर्ने, सञ्चार गर्ने, आफूलाई समयसापेक्ष रूपमा ढाल्न सक्ने जस्ता गुण जहिल्यै चाहिन्छ। भोलि डाक्टर वा आईटीमा काम गर्नुपर्छ भनेर बाल्यकालदेखि नै त्यसैमा लगाउने होइन, उनीहरूलाई संसारमा भइरहेका कुरा थाहा दिने मात्र हो। तब उनीहरूले आफ्नो रुचि आफैं बनाउनेछन्।
बालबच्चालाई गर्न हुने र नहुने काम कसरी बुझाउने? अनुशासित कसरी बनाउने?
अनुशासनमा बसाइयो भने सिर्जनशीलता मर्न थाल्छ, तर पनि के राम्रो, के नराम्रो भन्ने थाहा दिनुपर्छ। यसो गर, उसो नगर भन्न चाहिं हुँदैन। किनकि आमाले राम्रो भनेर गरेको काम बालबालिकालाई नराम्रो लागिरहेको हुन सक्छ। उनीहरूलाई तातो, गहिरो, पीरो भन्ने थाहा हुँदैन। यस्ता कुरा कथाको माध्यमबाट बताइदिंदा निकै प्रभावकारी हुन्छ।
कथामा घटनाहरू मिलाएर, उनीहरूलाई अनुभव हुने गरी सुनाउँदा सिकाइ बढ्छ। अर्को, उनीहरूलाई छनोटको अवसर दिनुपर्छ। जस्तो- आज घुम्न जाने ठाउँ यी हुन्, कहाँ चाहिं जाने भनेर सोध्ने। उनीहरूले छानेको ठाउँ राम्रो वा नराम्रो जे हो, त्यो भनिदिने। त्यसपछि उनीहरूले स्वतः सही र गलत थाहा पाउनेछन्।
बालबालिकालाई सुधार्ने नाममा पिट्नुले कस्तो परिणाम दिन्छ?
पिट्नु सरासर गलत हो। पिटाइसँगै हामी भावनात्मक हिंसा पनि गरिरहेका हुन्छौं। एक दिन गरेको गल्ती वर्षैभरि सुनाइरहन्छौं। यसले बच्चामा नकारात्मकता मात्र ल्याउँछ। कुनै काम बिगार्दा उसलाई पिट्नुभन्दा त्यसो किन गर्न हुँदैनथ्यो भनेर बुझाउनुपर्छ। बच्चालाई त आफूले गरेको काम गलत भन्ने नै थाहा हुँदैन। त्यसैले पिटे पनि दोहोर्याइरहन्छन्। अर्कातिर अभिभावकमा पनि भनाइ र गराइमा एकरूपता छैन। उनीहरू बच्चाले आफू मात्र छँदा गरेको कुनै कुरामा रिसाउँछन्।
अनि अरू मान्छे आउँदा चाहिं त्यही कुरा गर्न फुर्क्याउँछन्। यसले उसलाई द्विविधामा पारिदिन्छ। अनि पहिले कहिल्यै नगरेको क्रियाकलाप गरिदिन्छ। जस्तो- पाहुना आएको वेला झन् उत्ताउलो भइदिन्छ। किनकि त्यति वेला आफूलाई गाली गरिंदैन भन्ने उसले बुझेको हुन्छ। बारम्बार पिट्दा यही पिट्ने त हो नि भन्ने धारणा बसेर ऊ झन् झन् अटेरी हुन सक्छ।
एउटै उमेरका बालबालिकाको सिक्ने क्षमतामा एकरूपता नहुनुको कारण के हो?
कोही नौ महीनामै बोल्छन्, कोही बोल्दैनन्। यति नै महीनामा बोल्ने वा हिंड्ने भन्ने हुँदैन। यस्तो फरक उसमा हुने विकासको दरले पारिदिने हो, तर यो दर नाप्ने कुनै शैली र प्रविधि छैन। अभिभावकहरू बच्चा छिटो बोल्दिए, पढिदिए हुन्थ्यो, धेरै नम्बर ल्याइदिए हुन्थ्यो भनिरहन्छन्। तर, यसले बालबालिकालाई अनावश्यक तनाव दिन्छ। यसको असर उसको दिमागी विकासमा पनि पर्न जान्छ। तनाव कम हुँदै गए उसको दिमागी विकास फेरि राम्रो पनि हुन सक्छ। अरूसँग गरिने तुलनाले पनि बालबालिकामा दिमागी असर पर्न सक्छ। दिमागी तीक्ष्णता हुर्काइ र सिकाइले नै बढ्दै जाने हो।
शहरी र ग्रामीण क्षेत्रका बालबच्चाको सिकाइको सीमा र स्तरमा केकस्तो फरक हुन सक्ला?
गाउँको बच्चा प्रकृतिमा बसेको हुन्छ। खोलामा पौडँदै, ढुङ्गा-बालुवासँग खेल्दै हुर्केको हुन्छ। उसको सिकाइ सीमित भए पनि विकासको जग राम्रो हुन्छ। त्यसैले उसले भविष्यमा पनि अवसर पाउँदा राम्रो गर्ने सम्भावना बढी हुन्छ। पढेलेखेकाहरू बस्ने भनिएको काठमाडौंका बच्चाहरूको विकासको जग भने कमजोर छ। किनकि तिनलाई परिवारसँग भन्दा बढी नजिक सामग्रीहरूसँग बनाइएको छ।
शहरमा सामाजिकीकरण कम छ। हामीले एउटा सर्भे गरेका थियौं जसमा काठमाडौंका बच्चालाई ‘तिम्रो परिवारको सदस्य संख्या कति’ भनेर सोध्दा धेरैले हजुरबुबा-हजुरआमालाई जोडेनन्। तर, जुम्लाका बच्चाले यही प्रश्नमा घरमा भात खाने जति सबैलाई जोडे। बाख्रा, कुकुर, बिरालो, गाई, बाछा समेत छुटाएनन्। यही नै सामाजिक संवेगात्मक विकास हो।
कुनै बच्चाले गणितका कुरा तत्काल टिप्न सक्छन्, कतिलाई ठूलो भइसक्दा पनि सिक्न मुश्किल परिरहेको हुन्छ। यस्तो किन हुन्छ?
यसमा केही भूमिका गर्भावस्थामा पाएको पोषणको हुन्छ भने धेरै चाहिं सिकाइ अभ्यासकै कुरा हो। बच्चाले कुन वातावरणमा कसरी अभ्यास गर्न पाएको छ, हेरिनुपर्छ। गणित भनेको घोक्ने मात्र हो। त्यही कुरा कतिले नियम बनाएर पनि बुझ्छन्। घोकेका कुरा बिस्तारै हराउँदै जान्छ। सिकाइको शैलीले पनि सिकेको कुराको दिगोपन निर्धारण हुन्छ। बालबालिकालाई उटपट्याङ हिसाबले सिकाउँदा त्यो कुरा सबैले टिप्छन्। उनीहरूलाई ‘आउट अफ बक्स’ बनाउने यसरी नै हो।
बालबालिकाले आत्महत्या गरेका घटना पनि निकै सुनिन्छन्। कलिलो मस्तिष्कमा यस्तो सोच कसरी पलाएको होला?
यसमा मनोसामाजिक पक्षले भूमिका खेलेको हुन्छ। कसैले आत्महत्या गर्ने भनेको आफ्नो कोही छैन, आफ्नो कुरा कसैले सुन्दैन, त्यसैले अब बाँच्नुको अर्थ छैन भन्ने लागेपछि हो। एउटा अध्ययनले जन्मँदा कम तौल रहेका ८० प्रतिशत बच्चामा आत्महत्याको सोच आउने देखाएको छ। कुपोषणले दिमाग कमजोर अनि संवेगात्मक विकास कम हुँदा पनि यस्तो हुन्छ। खोजेको वेला बुबाआमा नपाउनु, होस्टल पठाइदिने वा भूत आउँछ भनेर तर्साउनुले बालबालिकामा आघात पुर्याएको हुन्छ।
त्यस्तै, हामी अर्को बच्चा जन्मनासाथ पहिलाको बच्चा सानै भए पनि ध्यान कम दिन थाल्छौं। तब उसले एक्लोपन अनुभव गर्न थाल्छ। यसले मनोसामाजिक विचलन ल्याउँछ। पछिल्ला दिन त परीक्षामा यति अङ्क ल्याउनैपर्छ भन्ने तनावमा पनि बालबालिकाले यस्तो कदम उठाएका छन्।
अझ, विद्यालयको सिकाइ विद्यार्थीभन्दा शिक्षक केन्द्रित छ। एउटाले कुनै कुरा छिटो सिक्यो भन्दैमा अर्काले पनि त्यही समयभित्रै जान्नुपर्छ भन्ने हुँदैन। कसैले गीतबाट, कसैले नाटक वा कोहीले फूटबल ग्राउन्डबाट सिक्न सक्छन्। यस्ता विधि नअपनाइँदा विद्यार्थीमा सिकाइ वृद्धि हुनु साटो झन् तनाव बढिदिन्छ। विद्यालयको सिकाइ कुनै दौड होइन भन्ने बुझिदिनुपर्यो।
बालबालिका विभिन्न खाले हिंसामा परिरहेका हुन्छन्। उनीहरूलाई यी कुरा कसरी अभिव्यक्त गर्न सिकाउने?
बालबालिकाका कुरा सुन्नुपर्छ, तर यहाँ अभिभावक पहिल्यै आलोचक भइदिन्छन्। जस्तो- बच्चाले विद्यालयमा शिक्षकले गाली गरेको सुनाउँदा उल्टै ‘तैंले के बिगारिस् होला’ भनिदिन्छन्। यसरी आफैंले गाली खानुपर्ने भएपछि उनीहरू घटना बताउनै छाडिदिन्छन्। त्यसैले एक-दुई वर्षको उमेरदेखि नै छोराछोरीलाई आफ्ना कुरा विना आलोचना सुनिन्छन् भन्ने महसूस गराउन थाल्नुपर्छ। ‘घरकै मान्छेले असहज व्यवहार गरेको छ भने पनि भन, हामी गाली गर्दैनौं’ भन्नुपर्छ। विश्वसनीय सम्बन्ध बनाए उनीहरूले आफ्ना समस्या राखिहाल्छन्।
बालविकासमा स्थानीय तहको भूमिका चाहिं कस्तो हुन सक्ला?
गाउँ गाउँमा ठूल्ठूला विद्यालय भवन देखिन्छन्, तर सिकाइ बालबालिका केन्द्रित छैन। विद्यार्थी कसरी र के खाएर आइपुग्छन्, विद्यालय पुग्दापुग्दै सिक्ने क्षमतामा कमी भएको छ/छैन भन्ने कुरा वास्ता गरिंदैन। स्थानीय सरकार त स्थानीय अभिभावक हो। वडाहरूलाई मातहतका सबै घरधुरी र त्यहाँका बालबालिकाको अवस्था थाहा हुनुपर्छ। कस्तो क्षमताका अभिभावक र बालबालिका छन् भन्ने तथ्याङ्क राख्नुपर्छ।
स्वास्थ्य, पोषण, सिकाइ, सुरक्षा लगायत पक्षमा काम गर्नुपर्छ। तर, अहिलेसम्म भएको छैन। स्थानीय सरकारका प्रतिनिधि पनि कोही व्यापारी, कोही शिक्षक अनि कोही कृषक भएर जाने, आफ्नै क्षेत्रका मान्छेलाई मात्र पोस्ने गरेको देखिन्छ। बालविकास कति महत्त्वपूर्ण विषय हो भन्ने उनीहरूलाई हेक्कै छैन।