लुम्बिनीमा विनियोजन विधेयक पारित
प्रतिपक्षको विरोधका कारण विनियोजन विधेयक छलफल नभई पास भएको हो।
लुम्बिनी प्रदेश सभाले २०८०/८१ का लागि विनियोजन विधेयक पारित गरेको छ। आज बसेको प्रदेश सभाको बैठकले आगामी आर्थिक वर्षको सेवा र कार्यका लागि सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरिएको हो।
अर्थमन्त्री धनबहादुर मास्कीले विधेयकमाथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गरे पनि प्रतिपक्षीको विरोधका कारण छलफल भने हुन सकेन। छलफल नभएपछि सभामुखले निर्णायार्थ पेश गरेको विधेयकलाई बहुमतले पास गरेको हो।
प्रदेश सभामा एमालेका सांसदहरूले खारेज भएका निर्देशनालयहरू फिर्ता ल्याउनुपर्ने माग गर्दै शुरूदेखि नै आन्दोलन गरिरहेका छन्। दिउँसो साढे १ बजेदेखि शुरू भएको बैठक एमाले सांसदहरूको अवरोधका कारण एक घण्टाका लागि स्थगन गरिएको थियो।