शिक्षकको हत्यामा संलग्नलाई जन्मकैद
शिक्षक विष्टले पुस १ गते राति पौने १० बजे शौचालय गएकी विमलालाई अँगालो हाली दुर्व्यवहार गरेको प्रजाले देखेपछि विष्टको छाती र मुखमा हिर्काउँदै कुटपिट गरी हत्या गरेको प्रजाले प्रहरी समक्ष बयान दिएका थिए।
बैतडीको पाटन नगरपालिका-६ स्थित श्रीकृष्ण माविका शिक्षक धनबहादुर विष्टको हत्यामा एक दम्पतीको संलग्नता भएको पुष्टि गर्दै जिल्ला अदालत बैतडीले जन्मकैदको आदेश दिएको छ। न्यायाधीश जयानन्द पनेरूको इजलासले हत्यामा संलग्न पुचौडी नगरपालिका-३ का २३ वर्षीय प्रजा बोहरालाई जन्मकैद र उनकी २२ वर्षीया श्रीमती विमलालाई ६ वर्ष कैदको आदेश दिएको हो।
प्रजालाई मुलुकी अपराधसंहिता २०७४ को दफा १७७ (२) बमोजिम जन्मकैद र मतियार देखिएकी विमलालाई अपराधसंहिता २०७४ को दफा ३६ (३) (ख) बमोजिम ६ वर्ष कैद गरिने अदालतका स्रेस्तेदार जनकसिंह बोहराले जानकारी दिए।
सुर्नया गाउँपालिका-२ घर भएका ५५ वर्षीय शिक्षक विष्ट गत पुस २ गते श्रीकृष्ण माविको छात्रावास पछाडि मृतावस्थामा भेटिएका थिए। पुस ७ गते हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले बोहरा दम्पतीलाई नियन्त्रणमा लिई सार्वजनिक गरेको थियो।
दुवै जना विरुद्ध जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दामा दुई पटक म्याद थपेर अनुसन्धान गरिएकामा पुस अन्तिम साता दुवै जनालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिइएको थियो। श्रीकृष्ण माविमा कम्प्युटर डिप्लोमा चौथो वर्षमा अध्ययन गरिरहेकी विमला छात्रावासमा बस्दै आएकी थिइन्। उनका श्रीमान् पनि भेटघाटका लागि पाटन पुगेर छात्रावासमै बसेका थिए।
छात्रावासमै बस्दै आएका शिक्षक विष्टले पुस १ गते राति पौने १० बजे शौचालय गएकी विमलालाई अँगालो हाली दुर्व्यवहार गरेको प्रजाले देखेको र त्यसपछि आक्रोशित भएका उनले विष्टको छाती र मुखमा हिर्काउँदै छात्रावास बाहिर ल्याई थप कुटपिट गरी हत्या गरेको प्रजाले प्रहरी समक्ष बयान दिएका थिए।
विष्टको मृत्युपश्चात् शवलाई प्रजा र विमलाले केत्तुकेको झारीमा फालेको प्रहरी अनुसन्धानबाट खुलेको थियो।