तिनाउमा तीन वर्षपछि बाढी मापन यन्त्र
दोभानमा बाढी मापन यन्त्र जडान भएपछि तिनाउ तटीय क्षेत्रका बासिन्दाले छिनछिनमै बाढीको सूचना पाउन थालेका छन्।
मंगलबार बिहान ३ बजे तिनाउ नदीको तल्लो तटीय क्षेत्रका बासिन्दाको मोबाइलमा खोलाले सतर्कता तह पार गरेको सूचना आयो।
‘तिनाउ नदी जल मापन केन्द्र बुटवलमा जल सतहले सतर्कता तह पार गरेको र बढ्दो रहेको तथा खतरा हुन सक्ने, तिनाउ नदीका तटीय क्षेत्र र आसपास डुबान हुन सक्ने होचा स्थानमा हुनेहरूले दिउँसो ९ बजेसम्म उच्च सतर्कता अपनाऔं,’ मेसेज मार्फत आएको सूचनामा भनिएको थियो।
लगत्तै ३:३० मा तिनाउले खतराको तह पनि पार गरिसकेको अर्को सूचना आयो। उसैगरी सतर्कता अपनाउन आग्रह गरियो।
गत साता तिनाउमा बाढी मापन यन्त्र जडान भएपछि नदीले सतर्कता वा खतराको तह पार गर्ने बित्तिकै त्यसको सूचना तटीय क्षेत्रमा रहेको बासिन्दाको मोबाइलमा आउन थालेको छ। जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाका सिनियर डिभिजनल हाइड्रोलोजिस्ट सुनिल पोखरेलका अनुसार पाल्पाको दोभानमा जोडिएको बाढी मापन यन्त्रले दिएको सूचनाका आधारमा बाढी पूर्वानुमान महाशाखाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन सूचना पठाउने गरेको छ।
“जल सतहले सतर्कता वा खतराको तह पार गर्ने बित्तिकै दोभानमा रहेको बाढी मापन यन्त्रले हामीलाई सूचना दिन्छ। त्यो बाढी तल्लो तटसम्म नपुग्दै महाशाखाले मोबाइलमा मेसेज पठाइसकेको हुन्छ,” उनले भने, “तल्लो तटीय क्षेत्रमा भएका मानिसहरू ‘अलर्ट’ हुन सक्छन्।”
विभागका अनुसार सोमबार राति पाल्पामा भीषण वर्षा भएको थियो। पाल्पाको बल्ढेङगढी र तानसेनमा रहेका जलमापन केन्द्रले देखाएको वर्षा मापन अनुसार पछिल्लो १२ घण्टामा क्रमशः २७६.८ र १५९.२ मिलिमिटर पानी परेको छ। यसैकारण ३ बजेपछि तिनाउमा जल सतह सात मिटर पुगेको थियो।
विभागले तिनाउमा ५.६ मिटर जल सतहलाई खतराको तह मान्ने गरेको छ। खतराको तह पार हुनासाथ राति नै सूचना जारी गरिएको पोखरेल बताउँछन्। गत शनिबार पनि तिनाउका तटीय क्षेत्रमा रहेका व्यक्तिको मोबाइलमा तिनाउले खतराको तह पार गरेपछि सुरक्षित रहन आग्रह गर्दै सूचना आएको थियो।
जल तथा मौसम कार्यालय भैरहवाका हाइड्रोलोजिस्ट इन्जिनीयर राजेशकुमार महतो स्वचालित बाढी मापन यन्त्र जडान भएकाले सहजै सूचना पाउन र दिन सम्भव भएको बताउँछन्। “बाढी मापन यन्त्र जडान नभएको भए सूचना प्रवाहमा समस्या आउँथ्यो,” उनले भने।
बाढी मापन यन्त्रले कसरी काम गर्छ?
हाइड्रोलोजिस्ट पोखरेलका अनुसार तिनाउ बेसिन क्षेत्रमा कति पानी आयो भने कति क्षेत्र डुब्छ भनेर कम्प्युटरबाट ‘कोडिङ’ गरेर एउटा मोडेल बनाइएको हुन्छ।
“दोभानको बाढी मापन यन्त्रले एउटा तथ्याङ्क उपलब्ध गराउँछ। त्यो तथ्याङ्क र हामीले बनाएको मोडेलको आधारमा कति वेला सूचना प्रवाह गर्ने भन्ने थाहा हुन आउँछ। खोलाले सतर्कता वा खतराको तह पार गर्यो भने हामीले टेलिफोन कम्पनी मार्फत सूचना पठाउँछौं।”
विभागले तिनाउ तटीय क्षेत्रमा बाढीले क्षति पुर्याउन सक्ने सम्भावित क्षेत्रलाई समेटेर सूचना प्रवाहका लागि पोलिगन (बहुभुज) बनाएको छ। सोही पोलिगनभित्र पर्न आउने मोबाइल नम्बरमा विभागले सूचना पठाउने गरेको छ।
“पोलिगनभित्र जो जो व्यक्ति आउँछन्, उनीहरूको मोबाइल नम्बर हाम्रो पूर्वसूचना प्रणालीमा स्वतः ‘क्याप्चर’ हुन्छ। त्यसैले कोही घुम्न आएका गैरस्थानीय छन् भने पनि तिनाउ तटमा भएका वेला उनीहरूको मोबाइलमा पनि सूचना जान्छ,” सिनियर हाइड्रोलोजिस्ट पोखरेल बताउँछन्।
विभागले पाँच वर्षअघि नै तिनाउका दुई स्थानमा वर्षा तथा बाढी मापन यन्त्र राखेको थियो। तीमध्ये केराबारीमा राखेको मापन यन्त्र अघिल्लो वर्ष चोरी भयो। दोभान र झुम्सा खोलाभन्दा ५० मिटर तल राखिएको यन्त्र तीन वर्षअघि २०७७ साल साउन १४ गते आएको बाढीले बगायो।
जल तथा मौसम कार्यालय भैरहवाका हाइड्रोलोजिस्ट महतोका अनुसार राति ११ बजे आएको उक्त बाढी ८.५० मिटरको थियो, जुन तिनाउमा चार दशकयताकै ठूलो बाढी थियो।
त्यसअघि २०३८ सालमा तिनाउमा आएको बाढीलाई हालसम्मकै ठूलो बाढी मानिन्छ। यो बाढीले बुटवल र दोभान क्षेत्रमा ठूलो जनधनको क्षति गरेको थियो।
नेपाल रेडक्रस सोसाइटी तिनाउ उपशाखाका सचिव समेत रहेका दोभानका स्थानीय सन्तोष शेरचनका अनुसार २०३८ साल सहितका ठूला बाढीलाई हेरेर खतराको मापन गर्ने गरी तिनाउमा वर्षा तथा बाढी मापन यन्त्र जडान गरिएको थियो।
तर, तीन वर्षअघि तिनाउको वर्षा तथा बाढी मापन यन्त्र बाढीले नै बगाउँदा तिनाउको बाढी र आसपासको वर्षाको अवस्थाबारे जानकारी पाउन सकिएन। सतर्कता अपनाउन समेत समस्या थियो। यसबीच विभागले पनि वर्षा मापनको आधारमा मात्र सूचना जारी गर्ने गरेको हाइड्रोलोजिस्ट पोखरेल बताउँछन्।
जलवायुविज्ञ ङमिन्द्र दाहाल तिनाउ आसपासको क्षेत्रमा चुरेको खोच धेरै भएकाले ‘क्लाउड बर्स्ट’ हुने अत्यधिक सम्भावना भएको बताउँछन्। चुरेको खोचमा बादल ठोक्किएर क्लाउड बर्स्ट हुँदा छोटो समयमा अत्यधिक वर्षा हुन सक्छ। यसैकारण पनि विशेषगरी तिनाउ क्षेत्र आसपासमा बाढी पूर्वानुमान महत्त्वपूर्ण हुन्छ।