अभियुक्तलाई भाग्न मद्दत गर्न सक्ने भन्दै भाटभटेनीका सञ्चालकलाई थुनामै राख्न माग
ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले अन्य प्रतिवादीलाई भगाउन र प्रमाण नष्ट गर्न सक्ने प्रहरीको निष्कर्ष छ।
प्रहरीले सर्वोच्च अदालतलाई बुझाएको लिखित जवाफमा भाटभटेनी सुपर मार्केटका मुख्य संस्थापक, प्रवर्द्धक र व्यवसायी गुरुङ प्रभावशाली व्यक्ति भएकाले उनले प्रमाण नष्ट गर्न सक्ने उल्लेख छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुख किरण बज्राचार्यद्वारा प्रेषित जवाफमा ‘गुरुङलाई थुनामा नराखी अनुसन्धान गर्दा अन्य प्रतिवादीलाई भाग्न मद्दत गर्न सक्ने प्रबल सम्भावना देखिएको’ उल्लेख छ। उनले साक्षी तथा जाहेरवालालाई समेत प्रभाव पार्न सक्ने प्रहरीको निष्कर्ष छ।
‘निजलाई थुनामा नराखी अनुसन्धान गर्दा पूरै अनुसन्धान प्रभावित भई तथ्यपरक अनुसन्धान गर्न र अपराधको सञ्जाल पहिचान तथा तहकीकातमा कठिनाइ हुने अवस्था देखिएको र निज प्रतिवादीको अख्तियार प्राप्त अधिकारी समक्ष बयान गराउने कार्य बाँकी नै रहेको हुँदा निजलाई थुनामा नै राखी मुद्दाको अनुसन्धान गर्नुपर्ने विद्यमानता रहेको’ महान्यायाधिवक्ता कार्यालय मार्फत बुझाइएको लिखित जवाफमा भनिएको छ।
ललिता निवास जग्गा हिनामिना प्रकरणमा सरकारी कागजात कीर्ते गरेको आरोपमा पक्राउ परेका गुरुङ, सुधीरकुमार शाह, धर्मप्रसाद गौतम र गोपाल कार्कीको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले असार १५ मा गृह मन्त्रालयलाई २४ घण्टाभित्र जवाफ पेश गर्न आदेश दिएको थियो।