टेस्ट टोलीसँग प्रतिस्पर्धा गर्दै नेपाल
जिम्बावे भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले आज तेस्रो पटक टेस्ट मान्यताप्राप्त टोलीसँग प्रतिस्पर्धा गर्दै छ।
आईसीसी विश्वकप छनोट प्रतियोगिता अन्तर्गत सातौं स्थानका लागि आज नेपालले टेस्ट मान्यताप्राप्त टोली आयरल्यान्डसँग प्रतिस्पर्धा गर्न लागेको हो। आईसीसीले टेस्ट मान्यता दिएको आयरल्यान्ड एघारौं टोली हो।
आयरल्यान्डले सन् २०१८ मा टेस्ट टोलीको मान्यता पाएको थियो। आयरल्यान्ड टोलीले गणतन्त्र आयरल्यान्ड र नर्दन आयरल्यान्डको प्रतिनिधित्व गर्छ।
यो प्रतियोगितामा नेपालले पहिलो पटक टेस्ट मान्यताप्राप्त घरेलु टोली जिम्बावेसँग प्रतिस्पर्धा गरेको थियो। समूह चरणमा भएको प्रतिस्पर्धामा नेपाल जिम्बावेसँग आठ विकेटले पराजित भएको थियो।
त्यसपछि समूह चरणमै अर्को टेस्ट मान्यताप्राप्त टोली वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गरेको थियो। क्यारेबियन क्षेत्रका १५ वटा देश तथा क्षेत्रको प्रतिनिधित्व गर्ने वेस्ट इन्डिजसँग पनि नेपालले हारेको थियो। वेस्ट इन्डिजसँग १०१ रनले पराजित भएको थियो।
आज टेस्ट मान्यताप्राप्त तेस्रो टोली आयरल्यान्डसँग प्रतिस्पर्धा गर्न लागेको हो। नेपाल र आयरल्यान्डको खेल आज दिउँसो १२ः४५ बजे जिम्बावेको हरारेस्थित ताकसिंगा स्पोर्ट क्लबको मैदानमा हुनेछ।
पछिल्ला पाँच एकदिवसीय खेलमा नेपालले दुई खेल जितेको छ भने तीन खेल हारेको छ। आयरल्यान्डको अवस्था पनि नेपालकै जस्तो छ। पछिल्ला पाँच एकदिवसीय खेलमा दुई खेल जितेको छ भने तीन खेल हारेको छ।