एसईईको नतीजा पुरानै व्यवस्था अनुसार सार्वजनिक हुने
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतीजा पुरानै व्यवस्था अनुसार नै सार्वजनिक गर्ने निर्णय गरेको छ।
बोर्डको बैठकले यसअघिकै व्यवस्था अनुसार नतीजा सार्वजनिक गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले बताए। अध्यक्ष शर्माका अनुसार यस वर्ष पुरानै पाठ्यक्रम अनुसार परीक्षा सञ्चालन भएकाले नतीजा पनि पुरानै व्यवस्था अनुसार सार्वजनिक गरिनेछ।
नयाँ निर्देशिका, २०७८ अनुसार सैद्धान्तिक विषयमा विद्यार्थीले अनिवार्य ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने व्यवस्था छ। नयाँ पद्धति अनुसार सबै विषयमा ३५ प्रतिशतभन्दा कम अङ्क ल्याउनेलाई ‘नन ग्रेडेड’ मा राख्ने व्यवस्था छ।
कक्षा १२ मा भने लेटर ग्रेडिङ निर्देशिका-२०७८ कार्यान्वयन भइसकेको छ। अर्को वर्षदेखि एसईईमा पनि नयाँ व्यवस्था लागू हुने अध्यक्ष शर्माको भनाइ छ।
उनले भने, “कक्षा १२ मा लेटर ग्रेडिङ निर्देशिका-२०७८ कार्यान्वयन भइसकेको छ, अब एसईईमा पनि नयाँ पाठ्यक्रम आउँछ, सोही अनुसार नयाँ व्यवस्था लागू हुन्छ।”
एसईईको नतीजा बिहीबार सार्वजनिक गर्ने योजना रहेको उनले बताए। प्राविधिक कारण बिहीबार प्रकाशन हुन नसके शुक्रबार नतीजा सार्वजनिक गर्ने तयारी रहेको उनको भनाइ छ।
विद्यार्थीले प्राप्त गरेको नतीजा रुजु र प्रविष्ट गर्ने अन्तिम काम भइरहेको बोर्डले जनाएको छ। गत चैत १७ गतेदेखि सञ्चालित परीक्षामा देशभरका चार लाख ८५ हजार ३९६ जना विद्यार्थी सहभागी थिए।