कांग्रेस नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउने सत्तारूढ दलमा सहमति
नेपाली कांग्रेसका नेता उद्धव थापालाई कोशी प्रदेशको मुख्यमन्त्री बनाउन सत्तारूढ दलबीच सहमति भएको छ।
बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा सोमबार बसेको सत्ता गठबन्धनका दलहरूको बैठकले थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र पाण्डेले जानकारी दिए। पाण्डेले भने, “कोशीमा कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्री बनाउन सुझाव दिने निर्णय गरेका छौं।”
थापा कोशी प्रदेश सभा कांग्रेस संसदीय दलका नेता हुन्। नेकपा (माओवादी केन्द्र)ले पनि मुख्यमन्त्री पाउनुपर्ने दाबी गर्दै आएको थियो।
नेकपा (एमाले)बाट मुख्यमन्त्री बनेका हिक्मत कार्कीले विश्वासको मत गुमाएपछि कोशीमा नयाँ सरकार गठन प्रक्रिया अगाडि बढेको हो। प्रदेश प्रमुख परशुराम खापुङले सरकार गठनका लागि दाबी पेश गर्न बिहीबारसम्मको म्याद दिएका छन्।
सत्ता गठबन्धनसँग सरकार गठन गर्न पुग्ने पर्याप्त बहुमत भने छैन। ९३ सदस्यीय प्रदेश सभामा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका गरी सभामुख बाहेक ४६ सांसद छन्।
एमालेका ४० र राष्ट्रिय प्रजातन्त्र पार्टीका ६ सांसद छन्। मुख्यमन्त्री कार्कीले ४६ मत पाएका थिए। सरकार गठनका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ।