बुटवलवासीलाई पिरोल्ने पहिरो
चुरेबाट बग्ने बर्खे भेलको निकास थुन्ने गरी बसेको बस्ती स्थानान्तरण गर्न स्थानीय सरकार उदासीन हुँदा ज्योतिनगर र लक्ष्मीनगरका बस्ती मात्रै होइनन्, सिङ्गो बुटवल शहर नै पहिरोको जोखिममा छ।
पूर्व-पश्चिम राजमार्गको एउटा प्रमुख शहर बुटवल ओर्लेर उत्तर फर्किनासाथ त्यहाँ पुगेको अनुभूति दिलाउँछ। चाङ लगाएर राखे जस्तो देखिने चट्टानका लहरहरूले बुटवलको सङ्केत चिह्नको काम गरेका छन्। तर, यसो उत्तर-पश्चिमतिर आँखा डुलाउँदा भने दिक्क लाग्छ। हरियो डाँडालाई कसैले रिसले ताछे जस्तो देखिन्छ। त्यो दिक्कलाग्दो दृश्य २०७८ सालमा त्यहाँ आएको पहिरोको प्रमाण हो।
त्यो वर्ष भदौ ११ मा बुटवल उपमहानगरपालिका-३, श्रवणडाँडामा लेदो सहितको पहिरो झरेको थियो। पहिरोले चुरेको फेदमा रहेका बस्तीहरू ज्योतिनगर र मिलनपथका १५ घरलाई पूर्ण रूपमा क्षति पुर्याएको थियो। ३० घर आंशिक रूपमा भत्किएका थिए। १२ घरमा लेदो छिरेर सामान्य क्षति भएको थियो। बुटवल उपमहानगरपालिकाको विपद्जन्य विवरण अनुसार जनज्योति आधारभूत विद्यालयको भवन र ज्योतिनगर खानेपानी आयोजनाको खानेपानी ट्याङ्की पनि भत्किएको थियो।
त्यो ठाउँमा पहिरो गएको त्यो पहिलो पटक भने थिएन। त्यसको २३ वर्ष पहिला पनि २०५५ भदौ १९ र २० मा पहिरोले १०१ वटा घर र १९ वटा घडेरी पुरेको थियो। एक जनाको मृत्यु र दुई जना घाइते भएका थिए। घटनापश्चात् बुटवलका तत्कालीन नगरप्रमुख तथा दैवीप्रकोप राहत उद्धार मूल समितिका अध्यक्ष भोजप्रसाद श्रेष्ठले प्रकाशन गरेको ‘दैवीप्रकोप अभिलेख विवरण’ अनुसार पहिरोले १२० परिवारलाई घरबारविहीन बनाएको थियो। पाँच करोड ८१ लाख ३१ हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको थियो।
त्यति वेला प्रकाशित समाचारमा सो साल पहिरो जानुभन्दा ६ दिनअघिबाट अविरल पानी परेको उल्लेख गरिएको छ। ‘१९ गते दिउँसोबाटै पहिरो जान शुरू गर्यो जसले गर्दा घरघरबाट मानिसहरू आफ्नो समान सहित लिएर निस्कन पाए,’ बुटवलबाट प्रकाशन हुने जनसंघर्ष दैनिकका तत्कालीन सम्पादक डीआर घिमिरेले बुटवल उपमहानगरपालिकाको स्मारिका बुटवल उत्सवमा लेखेका छन्, ‘यहाँसम्म कि कसैकसैले त क्रमिक रूपमा झरेको पहिरोबाट घर नबँच्ने भएपछि झ्याल, ढोका जस्ता निकाल्न सकिने चिजहरूलाई आफैंले घर फोरेर पनि निकाल्ने काम गरे।’
ज्योतिनगरको पहिरो: २०७७ र २०७८
त्यसो त २०३५ सालमा पनि त्यहाँ ठूलो पहिरो आएपछि चुरे फेदमा रहेका बस्तीमा भागाभाग चलेको थियो। सोही वर्षदेखि ज्योतिनगरको पहिरोको अभिलेखीकरण हुन थालेको होे। पहिरोले बस्ती नै बगाउने खतरा निम्त्याएपछि तत्कालीन राजा वीरेन्द्र शाहले बस्ती स्थानान्तरण गरी चुरे संरक्षण गर्न निर्देशन दिएको वडा नंं ३ का वडाध्यक्ष विष्णु ढकाल बताउँछन्। उनका अनुसार राजाको निर्देशनपछि त्यहाँका बासिन्दालाई चुरेमा रहेका भुताहा, चिसापानी, माकर तथा चिडिया खोला गाउँ स्थानान्तरण गरी नवलपरासीको बर्दघाट लगिएको बताउँछन्। तथापि समस्या भने ज्यूँका त्यूँ छ। “यो पहिरोले चार दशकदेखि बुटवलको टाउको दुखाएको छ,” ढकाल भन्छन्।
ज्योतिनगरको पहिरो भनेर चिनिएको पहिरो क्षेत्र तल्लो चुरे पहाड (लोअर शिवालिक)मा पर्छ। पहिरोको शिर भने श्रवणडाँडामा छ। यो पहिरोको अध्ययन गरेका भूगर्भविद् रञ्जनकुमार दाहालका भनाइमा श्रवणडाँडा पहिलेको ठाउँबाट ५० देखि ८० मिटर तल धस्केको छ। २०७८ सालमा मात्रै १० देखि ३० मिटर तल धस्केको देखिन्छ। पहिरोको शिर साढे एक किमि लामो छ। तल देखिने अरू पहिरोहरू सहायक हुन्।
किन जान्छ पटक पटक पहिरो?
२०५५ र २०७८ को पहिरोपश्चात् श्रवणडाँडाको अध्ययन गरेका भूूगर्भविद् तथा भूविपद् विज्ञहरूका अनुसार भौगर्भिक अवस्थिति, चुरेको कमजोर बनावट र मानवीय क्रियाकलापका कारण त्यहाँ पहिरो गइरहेछ।
पहिरोको भौगर्भिक अवस्थिति हेर्ने हो भने श्रवणडाँडा हिमालयको इतिहासको सबैभन्दा नयाँ दरार (हिमालयन फ्रन्टल थ्रस्ट)मा पर्छ। राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समितिकी सदस्य सुस्मिता ढकालका अनुसार चुरे पहाड बन्ने समयमा तराई र चुरे छुट्टिने वेला बनेको दरार हो यो। उनी भन्छिन्, “नेपालको पूर्व-पश्चिम तन्किएको यो दरार कहीं-कहीं सतहमै देखिएको छ। कहीं सतहभन्दा धेरै तल छ। बुटवलको सन्दर्भमा बाहिर सतहमा देखिएको छैन, तर सतहको नजिक भने छ।”
दरार भएकै हुनाले बुटवलको चुरेमा सानातिना पहिरो गएको बताउँछिन्। “दरारको वरपर जमीन कमजोर हुने भएकाले पहिरो धेरै गएको हुन्छ,” उनी भन्छिन्।
श्रवणडाँडामा पहिरोको अध्ययन गरेका भूगर्भविद् रञ्जन दाहालका अनुसार यो दरार श्रवणडाँडाको फेद हुँदै लक्ष्मीनगर-ज्योतिनगर-गोलपार्क-पुरानो बुटवलको उपल्लो भाग हुँदै पाखापानीबाट पश्चिमतिर लागेको छ। “यो दरार भूकम्पीय दृष्टिले त जोखिमयुक्त मानिन्छ नै, कमजोर भूबनोटका कारण पहिरोको पनि उत्तिकै जोखिम छ,” दाहाल भन्छन्।
भूगर्भविद् सुबोध ढकाल दक्षिणको इन्डियन प्लेट र उत्तरको यूरेशियन प्लेटबीचको टकरावका कारण ‘हिमालयन फ्रन्टल थ्रस्ट’ सक्रिय रहेको बताउँछन्। ‘नेपाल जिओलोजिकल सोसाइटी’ को बुलेटिनको पूर्णाङ्क ३५ मा उनी लेख्छन्, ‘प्लेटहरूको टकरावले निस्कने शक्ति, पटक पटक दोहोरिरहने भूकम्पहरू र त्यसको समग्र प्रक्रिया र त्यसबाट जन्मिएको अति ठूलो चापको कारण पृथ्वीको आन्तरिक प्रक्रियाको असर चुरेमा पनि परिरहेकै अवस्था छ। यो कुरालाई चुरे र भावरको बीचमा बनेको हिमालयको इतिहासको सबैभन्दा नयाँ हिमालयन फ्रन्टल थ्रस्ट भनिने दरारले प्रमाणित गर्छ।’
यो जोखिम बुझेका विज्ञहरूले संवेदनशील चुरे क्षेत्रमा जथाभावी संरचना नबनाउन बुटवल उपमहानगरपालिका लगायत सरकारी निकायलाई ध्यानाकर्षण गराउँदै आएका छन्। तर, २०५५ सालमा पहिरो गएपछि पनि संवेदनशील चुरे क्षेत्रमा भौतिक संरचनाहरू बन्ने क्रम रोकिएको छैन।
दरार भएकै स्थानबाट मिलनपथ, ज्योतिनगर र लक्ष्मीनगरको बस्तीमाथि हुँदै रिङरोडको ट्र्याक खोलिसकिएको छ। बुटवल उपमहानगरपालिका पूर्व प्रमुख शिवराज सुवेदीको कार्यकालमा नगर यातायात गुरुयोजना तयार गरी पाँच वर्षमा निर्माण पूरा गर्ने उद्देश्यका साथ २०७५ सालमै चक्रपथ निर्माणको काम शुरू भएको थियो।
बुटवलको १९ वटै वडा जोड्ने लक्ष्य राखिएको यो सडकको गोलपार्क-ज्योतिनगर-लक्ष्मीनगर सडकखण्ड भौगर्भिक दरारमाथि बनेको छ। पूर्व नगरप्रमुख शिवराज सुवेदी वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) गरेर सडक निर्माण गरेको भए पनि भौगर्भिक दरारको प्रभावलाई ईआईएमा समेट्न नसकेको स्वीकार गर्छन्।
त्यसरी जोखिमयुक्त ठाउँमा सडक बनाउन थालेपछि उपमहानगरपालिकाको ‘विपद् व्यवस्थापन समिति’ को बैठकमै चक्रपथ निर्माणको काम रोक्नुपर्ने अडान लिएको बताउँछिन् सुस्मिता ढकाल। “पहिलेदेखि नै दरार अनि भित्रबाट कमजोर पहाड, त्यसमाथि सडक बनाउँदा फेद ताछिदिएपछि भूस्खलनको प्रक्रिया झन् छिटो हुन जान्छ,” उनी भन्छिन्, “हामीले उपमहानगरलाई चक्रपथ बनाउनु हुँदैन भनेर धेरै पटक भनिसकेका छौं।”
ढकालले भने जस्तै दरार हुनुका साथै चुरेको कमजोर बनावट पनि श्रवणडाँडामा पहिरो जानुको अर्को कारण हो। भूगर्भविद्का अनुुसार चुरे पर्वत शृङ्खलामा तल्लो शिवालिक ग्रूप अन्तर्गत पाइने मडस्टोन (माटे ढुंगा), स्यान्डस्टोन (बलौटे ढुंगा) र मार्ल (चुन मिसिएको माटे ढुंगा) चट्टान पहिरो क्षेत्रमा पाइन्छन्। यो भित्री चट्टानको माथिल्लो पत्रका रूपमा चिम्ट्याइलो माटो, सिल्ट र केही बालुवा मिसिएको छ।
रञ्जन दाहालका अनुसार श्रवणडाँडाको माथिल्लो भागमा कोलुभिएम (गेग्रान)को पत्र कम छ। जसले गर्दा वर्षाको पानी सजिलै कमजोर चट्टानमा छिर्छ। त्यसरी छिरेको पानी केही तलबाट मूल फुटेर बग्छ। माथि सतहबाट छिरेको पानीले माटे ढुंगालाई पगाल्छ। अनि पहाड थामिन सक्दैन र भेल पहिरो बग्छ।
चुरे पहाडको यो नियति श्रवणडाँडाले पनि भोगिरहेछ। परिणाम, डाँडा नै तल धस्किरहेकाले सिङ्गो बुटवलमा ठूलो जोखिम निम्तिन सक्ने खतरा रहेको दाहाल बताउँछन्। “भूकम्पले जोखिमयुक्त चुरे र बुटवलमा वर्षा भएका वेला भूकम्प जाने हो भने ठूलो विपत्ति निम्तिन सक्छ,” उनी भन्छन्।
श्रवणडाँडाको पहिरोको अर्को पक्ष पनि छ, त्यो हो- त्यहाँ जम्मा हुने पानी। २०५५ र २०७८ सालमा आएको दुई ठूला पहिरोपश्चात् गरिएका अध्ययनहरूले श्रवणडाँडाको मूल तथा सतहको पानीले निकास नपाएका कारण पहिरो गएको औंल्याएका छन्।
२०५५ सालमा बुटवल तत्कालीन बुटवल नगरपालिका वडा नं १३ का अध्यक्ष होमबहादुर गलामी, जर्मन विकास सेवाका रेनेम्यान डेन होवेन, नगरपालिकाका इन्जिनीयर सुशील ज्ञवाली, ‘भैरहवा-लुम्बिनी भूमिगत जल सिंचाइ’ का भूगर्भविद् अनुपकुमार थापा, नेत्रप्रकाश बोहोरा, भूगर्भविद् खिलनाथ दाहाल र सडक विभागका इन्जिनीयर अर्जुनजंग थापाको टोलीले गरेको अध्ययनले पहिरोको दीर्घकालीन व्यवस्थापनका लागि ‘जहाँ जहाँबाट पानीको मूल फूटेको छ, त्यहीं त्यहींबाट पानी ड्रेन आउट (निकास दिने) गर्नुपर्ने’ सुझाव दिएको थियो।
२०७८ असोज १७ र १८ गते भूगर्भ तथा भूविपद् विज्ञहरू सुस्मिता ढकाल, रञ्जनकुमार दाहाल, इन्जिनीयर सञ्जय देवकोटा र मनिता तिमिल्सिनाले गरेको प्रारम्भिक अध्ययनले पनि डाँडाको पानी कुनै खोल्सी मार्फत नबगेर यत्रतत्र छरिएर बगेको देखाएको थियो। अध्ययन अनुसार सतहमा बगेको पानीको ठूलो भाग पहाडको भित्र छिर्दा फेदतिर पहिरोको जोखिम बढेको छ।
उक्त प्रारम्भिक अध्ययन प्रतिवेदनमा भनिएको छ- ‘लक्ष्मीनगरभन्दा माथि रहेको डाँडामा एउटा दुई मिटरभन्दा गहिरो र १२-२० मिटर लामो र पाँच मिटर चौडा पोखरी पनि बनेको देखिन्छ।’
सोही अध्ययनमा संलग्न पहिरोविद् ढकाल भन्छिन्, “यस्ता पोखरीहरू फुटेमा तल्लो क्षेत्रमा धेरै क्षति हुन सक्ने सम्भावना पनि छ। यसरी बगिरहेको पानीको सही व्यवस्थापन नगरेसम्म श्रवणडाँडाको पहिरो अति जोखिममा रहेको छ।”
बस्तीले रोक्यो निकास
पहिरो प्रभावित क्षेत्र मिलनपथ, ज्योतिनगर र लक्ष्मीनगरमा तीन वटा ठूला र एक दर्जन जति ससाना खोल्सीहरू छन्, जसले चुरेको मूल र सतहको पानीलाई निकास दिन्छन्। तर, मानव बस्ती बढ्दै जाँदा यी खोल्सीहरू निकै साँघुरिएका छन्।
बर्खामा चुरेबाट झरेको लेदो सहितको पानीले निकास नपाउँदा बस्तीतर्फ छिरेको अध्ययनहरूले देखाएका छन्। उक्त तथ्य गूगल म्यापको सेटेलाइट इमेजरीबाट पनि पुष्टि हुन्छ।
जस्तो कि, २०६०, २०७४ र २०७८ सालका तीन छुट्टाछुट्टै सेटेलाइट इमेजरी तुलना गर्दा चुरे पहाडबाट मिलनपथदेखि पश्चिम हुँदै गोलपार्क पुगेको खोल्सी साँघुरिएको देखिन्छ। खोल्सीको मुख साँघुरो पारी स्वरूप नै फेर्ने गरी बनेका घर तथा संरचना चुरे पहाडको ठीक फेदमा छन्, जहाँबाट चुरे हुँदै बग्दै आएको खोल्सीले दिशा परिवर्तन गरी पश्चिमतर्फ लाग्छ।
इमेजरीले देखाउँछ- २०६० देखि २०७४ असारसम्म मिलनपथको खोल्सीको मुख ससाना पोथ्राले ढाकिएको र खुला थियो। खोल्सीको मुखमा २०७४ मंसीरतिर संरचना बनेको देखिन्छ। त्यही स्थानमा पुगेर हेर्दा खोल्सीमा बाँध बाँधेर त्यससँगै जोडेर कम्तीमा सात वटा घर तथा टहराहरू बनेको पाइयो।
२०७८ सालमा आएको पहिरोले सबैभन्दा धेरै क्षति यिनै घरमा पुर्याएको छ भने खोल्सीको मुखतर्फको भाग पुरिदिएको छ। खोल्सीमा बाँधेको बाँध भत्काउँदै पहिरो बस्तीतर्फ छिरेको छ। त्यति मात्रै होइन, पहिरोले आफैं नयाँ स्थानबाट निकास निकालेको छ।
मिलनपथमा मात्रै होइन, ज्योतिनगर र लक्ष्मीनगरका दुई ठूला खोल्सीहरू मानवीय अतिक्रमणका कारण साँघुरिंदै गएका छन्। अन्य ससाना खोल्सीहरू समेत अतिक्रमणको चपेटामा छन्। जस्तै- लक्ष्मीनगरतर्फको ठूलो खोल्सी (सुखौरा खोलामा मिसिने)लाई गूगल म्यापमा ‘सेटेलाइट इमेजरी’ गरेर हेर्ने हो भने गएको १९ वर्षयता खोल्सीमा बस्ती छिरेको देख्न सकिन्छ।
लक्ष्मीनगरतर्फको खोल्सामा मानवीय अतिक्रमण: २०६० र २०७८
वडा नं ३ का अध्यक्ष विष्णु ढकालका अनुसार प्राकृतिक नाला अतिक्रमण गरी कम्तीमा दुई दर्जन घर तथा संरचना बनेका छन्। तीमध्ये कतिपयले त लालपुर्जा समेत बनाइसकेका छन्। उता, ज्योतिनगर हुँदै चिडिया खोलातर्फ गएको खोल्सीमा पनि कम्तीमा १५ वटा घर तथा संरचना छन्। “यहाँ केही सार्वजनिक र निजी जग्गा पनि छन्,” उनी भन्छन्।
२०५५ र २०७८ सालमा भएका विभिन्न अध्ययनले पानीको निकास दिन ठूला संरचना बनाउन रोक्नेदेखि बस्ती नै स्थानान्तरण गर्नुपर्नेसम्मका सुझाव दिएका थिए। २०५५ मा जाईकाको डीपीटीसी र युनाइटेड मिशन टु नेपालका प्रतिनिधिले बुटवल उपमहानगरलाई दिएको छुट्टाछुट्टै प्रतिवेदन अनुसार चुरे तल रहेको बस्तीले बर्खामा श्रवणडाँडाको सतह वा मूलको पानीको निकास रोकिदिने गरेको छ। अध्ययनले पहिरोको जोखिम कम गर्न ‘दीर्घकालीन हिसाबले उक्त क्षेत्रमा घर बन्न दिन नहुने’ सुझाव दिएको थियो।
सुझाव अनुसार तत्कालीन बुटवल नगरपालिकाले जोखिम क्षेत्रका ३५० घरलाई ‘रेड एरिया’ भित्र राखेको थियो। तत्कालीन नगरप्रमुख भोजप्रसाद श्रेष्ठका अनुसार ‘रेड एरिया’ मा परेका घरजग्गा ब्यांकिङ कारोबार, नापजाँच तथा बेचबिखनका लागि रोक्का गरिएको थियो। “तर कालान्तरमा स्थानान्तरण गर्नका लागि केही योजना भएन। त्यसकारण ब्यांकहरूले रोक्का फुकुवा गरिदिए। बेचबिखन हुन थाल्यो। त्यसपछि बस्ती बढेको बढ्यै भए,” पूर्व नगरप्रमुख श्रेष्ठ भन्छन्।
स्थानान्तरणको फितलो योजना
२०५५ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला भदौ २५ गते पहिरो निरीक्षणका लागि बुटवल आएका थिए। बुटवल नगरपालिकाले १२० परिवारलाई जग्गा र आवासको व्यवस्था गर्न प्रधानमन्त्री समक्ष निवेदन दिएको थियो। त्यति वेला जनसंघर्ष दैनिकमा छापिएको समाचार अनुसार बुटवल बस्ती पुनर्वास तथा चुरे संरक्षणका लागि प्राविधिकहरूको अनुमान अनुसार एक करोड पाँच लाख रुपैयाँ बजेट र बाढी नियन्त्रण लागि ६० मेट्रिक टन जीआई तारको व्यवस्था गर्न प्रधानमन्त्री कोइरालालाई नगरपालिकाले आग्रह गरेको थियो। त्यसपछि नगरपालिकाको पटक पटकको ताकेतापछि मात्रै ५४ परिवारलाई २०५७ सालमा पुनर्वास गरिएको थियो।
तत्कालीन बुटवल नगरपालिकाका प्रमुख भोजप्रसाद श्रेष्ठका अनुसार पहिरो प्रभावित परिवारलाई बुटवल तामनगरमा १० धुरका दरले जग्गा दिएर स्थानान्तरण गरिएको थियो। तर, त्यसरी स्थानान्तरण भएका व्यक्तिहरूको नामबाट ज्योतिनगरको जग्गाको लगत कट्टा गर्नुपर्नेमा गरिएन। पुनर्वास पाएका प्रभावित बासिन्दाले ज्योतिनगरको घरजग्गाको पनि तिरो तिर्दै गए। फलस्वरूप दुवैतिर उनीहरूको स्वामित्व कायम नै रह्यो।
किन लगत कट्टा गरिएन त? तत्कालीन नगरप्रमुख भोजप्रसाद श्रेष्ठ भन्छन्, “पुनर्वास गर्नुपर्ने परिवारको लगत विवरण नगरपालिकाले मालपोतमा बुझाएको थियो। पुरानो ठाउँको लगत कट्टा गर्ने काम मालपोतकै हो। संस्थागत त्रुटिका कारण त्यसो गरिएको रहेनछ।”
प्रदेश सभा सांसद समेत रहेका श्रेष्ठ नियतवश नभई लापरवाहीकै कारण लगत कट्टा नभएको तर्क गर्छन्। भन्छन्, “यो विषयमा जति ध्यान दिनुपर्थ्यो, त्यति दिइएन।”
पहिरो प्रभावित क्षेत्र वडा नं ३ का वडाध्यक्ष विष्णु ढकालको भनाइमा लगत कट्टा नगरिएकाहरूमध्ये कतिपय फेरि ज्योतिनगरमै फर्केका छन्। कतिपयले अरूलाई जग्गा बेचेर आम्दानी गरे। २०७८ सालको पहिरोमा पर्नेमध्ये कतिपय २०५५ सालको पहिरोमा पर्नेहरू नै छन्।
२०७८ सालको पहिरोसम्म आइपुग्दा ज्योतिनगरमा घना बस्ती विकास भइसकेको छ। त्यसैले बस्ती स्थानान्तरण झनै पेचिलो भइरहेछ। फेरि पनि बस्ती स्थानान्तरणका लागि कतैबाट पनि पहल शुरू भएको छैन। बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे बस्ती स्थानान्तरणका लागि कुनै योजना नभएकोे स्वीकार गर्छन्। उनको भनाइमा बस्ती स्थानान्तरणभन्दा पहिरो रोकथामलाई नगरपालिकाले प्राथमिकता दिएको छ। भन्छन्, “बस्ती त्यहाँबाट सारेर मात्रै पहिरो रोकिने होइन। त्यसैले पहिरोेको रोकथाम गरेर बस्ती सुरक्षित गराउनेतर्फ मात्र नगरपालिकाको ध्यान छ।”
पूर्व नगरप्रमुख श्रेष्ठ भने उपमहानगरले बस्ती स्थानान्तरणका लागि तत्काल योजना बनाउनुपर्नेमा जोड दिन्छन्। भन्छन्, “अति, मध्यम र कम जोखिम क्षेत्र तोकेर चरणबद्ध रूपमा बस्ती स्थानान्तरण गर्न उपमहानगरले योजना बनाइहाल्नुपर्छ। अब पनि आँखा चिम्लिने हो भने धेरै ढिला भइसकेको हुनेछ।”