दुई पटक समानुपातिक सांसद बनेपछि त्यही पदमा उम्मेदवार बन्न नपाउने
निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीबाट दुई पटक सांसद बनिसकेपछि पुनः समानुपातिकबाट उम्मेदवार बन्न नपाउने व्यवस्था गर्न प्रस्ताव गरेको छ।
आयोगले निर्वाचन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक मार्फत यस्तो व्यवस्था गर्नुपर्ने निर्णय गरेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जनाएका छन्। आयोगको असार १८ मा बसेको बैठकले समानुपातिक प्रणालीबाट बढीमा दुई पटक मात्र सांसद बन्न पाइने व्यवस्था गर्न लागेको हो।
यस्तै, संघीय संसद्, प्रदेश सभा वा स्थानीय तहको सदस्य पदमा उम्मेदवार भई पराजित व्यक्तिले सोही निर्वाचन क्षेत्र वा तहको उपनिर्वाचन बाहेक त्यस्तो पदको कार्यकाल पूरा नभएसम्म कुनै पनि तहको निर्वाचनमा उम्मेदवार हुन नसक्ने व्यवस्था गर्नुपर्ने आयोगको प्रस्ताव छ।