श्रीलंकामा शोषित ‘मुथु राजा’ थाइल्यान्ड फिर्ता
२९ वर्षीय मुथुलाई आइतबार श्रीलंकाबाट ‘एअरलिफ्ट’ गर्दै थाइल्यान्ड पुर्याइएको छ। मुथुलाई श्रीलंकामा शोषण गरिएको भन्दै यी दुई देशबीच कूटनीतिक तहमा विवाद समेत भएको थियो।
सन् २००१ मा थाई राजपरिवारले श्रीलंका सरकारलाई तीन वटा हात्ती उपहार दियो। धार्मिक चिनोको वाहकका रूपमा प्रशिक्षण दिन भनेर हात्ती श्रीलंका पठाइएको थियो।
तीनमध्ये एक हात्ती थियो- सात वर्षीय ‘मुथु राजा’। मुथु राजालाई श्रीलंकाको दक्षिणी क्षेत्रको एक मन्दिरमा हेरचाह गर्न भनी राखियो। तर, त्यहाँ मुथुको हेरचाह नभई शोषण भयो। पशु अधिकारकर्मीहरूका अनुसार मुथुलाई मन्दिरमा रूख काट्नेहरूका लागि काम गर्न बाध्य बनाइयो। साथै, मुथुलाई लागेको चोट लामो समयदेखि बेवास्ता गर्दा ऊ खुट्टा खुम्च्याउनै नसक्ने भयो, खुट्टा लतार्दै हिंड्न थाल्यो।
लामो प्रयासपछि गत नोभेम्बरमा भने मुथुको उद्धार भयो। उद्धारका वेला मुथु पीडामा भएको र घाउ नै घाउ भएको अवस्थामा रहेको एएफपीलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ। अभियन्ताहरूका अनुसार ती घाउ यसका तथाकथित रेखदेखकर्ताले नै गर्दा भएको हो।
उद्धारपछि मुथुलाई श्रीलंकाको राष्ट्रिय प्राणी उद्यानमा लगियो। यसबीचमा मुथुको धेरैजसो घाउ निको पनि भयो।
अहिले भने मुथु थाइल्यान्ड फिर्ता भएको छ। चार हजार किलोको २९ वर्षीय मुथुलाई आइतबार विशेष रूपमा निर्माण गरिएको स्टीलको खोरमा राखी चार जना थाई र एक जना श्रीलंकाली चिडियाखानाका कर्मचारीको रखदेखमा ‘एअरलिफ्ट’ गर्दै चियाङ माई अन्तर्राष्ट्रिय विमानस्थल पुर्याइएको हो।
कूटनीतिक तहमा विवाद
मुथुलाई लिएर थाइल्यान्ड र श्रीलंकाबीच कूटनीतिक तहमा विवाद नै भएको थियो। गत वर्ष भ्रमणका क्रममा श्रीलंकाका लागि थाई राजदूतले मुथुलाई खराब हालतमा देखेपछि थाइल्यान्डले दृढतापूर्वक मुथु फिर्ता गर्न माग गरेको श्रीलंकाली वनमन्त्री पवित्रा वान्नियारच्चीले स्थानीय सञ्चारमाध्यमलाई बताएकी थिइन्।
श्रीलंकाका प्रधानमन्त्री दिनेश गुनावर्दनाले त आफूले थाई राजासँग औपचारिक रूपमै माफी मागेको बताएका थिए। गत जूनमा संसद्लाई सम्बोधन गर्दै प्रधानमन्त्री गुनावर्दनाले मुथुमाथि भएको दुर्व्यवहारप्रति आफूलाई पछुतो भएको कुरा थाई राजा महा वजिरालोंकोर्नलाई बताएको र दुई देशबीच विश्वास स्थापना गर्न सफल भएको बताएका थिए।
श्रीलंकाको अभियन्ता समूह ‘र्याली फर एनिमल राइट्स एन्ड एन्भाइरोमेन्ट’ (आरएआरई) की संस्थापक पांचली पनपिटियाका अनुसार उक्त घटनाप्रति कारबाही अगाडि बढाउन श्रीलंका सरकारलाई गरिएको महीनौंदेखिको आग्रह बेवास्ता गरिएपछि आरएआरईले गत वर्ष नै थाई अधिकारीहरूलाई हस्तक्षेपका लागि गरेको थियो। उनका अनुसार श्रीलंकाली वन्यजन्तु अधिकारीको असफलताले देशलाई नै बदनाम गराएको छ।
आरएआरईले हात्तीलाई उपेक्षा गर्नेहरूमाथि कानूनी कारबाही अघि बढाउन पनि माग गरेको छ।
अभियन्ताको विरोधपछि थाई सरकारले तीन वर्षअघि नै थाई हात्तीलाई विदेश पठाउन बन्द गरिसकेको छ। पहिल्यैदेखि विदेशमा भएका थाई हात्तीहरूको भने निगरानी गरिरहेको ब्यांककको वन्यजन्तु विभागले बताएको छ।
मुथुको भने अब अगाडिको देब्रे खुट्टामा लागेको चोटको हाइड्रोथेरापी विधिबाट उपचार गरिनेछ।