राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७९ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतीजा सार्वजनिक गर्ने अन्तिम तयारी शुरू गरेको छ।
नतीजा प्रकाशनका लागि उत्तरपुस्तिक परीक्षण, सम्परीक्षण, रुजु गर्ने काम सकेर हाल नतीजा कम्प्युटरमा प्रविष्ट गर्ने काम भइरहेको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले बताए। “असारको तेस्रो साताभित्र नतीजा प्रकाशन गर्ने कार्यतालिका अनुसार काम भइरहेको छ,” अध्यक्ष शर्माले भने, “उत्तरपुस्तिका परीक्षणको काम सकिए पनि प्राविधिक काम बाँकी छ।”
हतारमा नतीजा प्रकाशन गर्दा त्रुटि हुने सम्भावना धेरै भएकाले सकेसम्म त्रुटिरहित नतीजा प्रकाशन गर्ने गरी काम भइरहेको उनको भनाइ छ। “जटिल प्राविधिक समस्या नआए असार २१ गतेभित्र नतीजा सार्वजनिक गर्छौं,” उनले भने।
एसईई परीक्षा गत चैत १७ गतेदेखि शुरू भएको थियो। परीक्षामा देशभरका दुई हजार ३७ परीक्षा केन्द्रमा सामुदायिक र निजी विद्यालयका गरी १२ हजार ८३ विद्यालयका चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी थिए। जसमा छात्रा दुई लाख ४२ हजार ७१२ र छात्र दुई लाख ४२ हजार ६७४ जना थिए।
कक्षा ९ देखि प्राविधिक धार समेत पठनपाठन गराउँदै आएका विद्यालयबाट १५ हजार ४६१ जना परीक्षार्थी एसईईमा सहभागी भएका थिए। परीक्षा नियन्त्रण कार्यालयले जिल्ला सदरमुकाममा केन्द्र तोकेर उत्तरपुस्तिका परीक्षण गराएको थियो।
परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले पनि परीक्षाफल असार तेस्रो साताभित्रै सार्वजनिक गर्ने गरी काम भइरहेको बताए।
नतीजा पद्धतिमा अन्योल
एसईई नतीजा प्रकाशन लेटर ग्रेडिङ निर्देशिका, २०७२ बाट गर्ने कि २०७८ अनुसार गर्ने भन्नेबारे अझै टुङ्गो लागेको छैन। बोर्डले गत वर्ष लेटर ग्रेडिङ निर्देशिका २०७८ कार्यविधि लागू गरे पनि नतीजा भने २०७२ को पद्धति अनुसार नै गरेको थियो।
२०७२ सालमा सैद्धान्तिक र प्रयोगात्मकको अङ्क जोडेर ३५ प्रतिशत अङ्क ल्याए पनि विद्यार्थी उत्तीर्ण हुने व्यवस्था थियो। त्यही पद्धति अनुसार नतीजा प्रकाशित भए ९० देखि १०० ल्याउनेलाई ‘ए’ प्लस, ८० देखि ९० भन्दा कम ल्याउनेलाई ‘ए’, ७० देखि ८० भन्दा कम ल्याउनेलाई ‘बी प्लस’, ६० देखि ७० भन्दा कम ल्याउनेलाई ‘बी’, ५० देखि ६० भन्दा कम ल्याउनेलाई ‘सी प्लस’, ४० देखि ५० भन्दा कम ल्याउनेलाई ‘सी’, ३० देखि ४० भन्दा कम ल्याउनेलाई ‘डी प्लस’, २० देखि ३० भन्दा कम ल्याउनेलाई ‘डी’ र २० भन्दा कम ल्याउनेलाई ‘ई’ ग्रेड प्रदान गर्ने व्यवस्था छ।
नयाँ निर्देशिका २०७८ अनुसार सैद्धान्तिक विषयमा विद्यार्थीले अनिवार्य ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने व्यवस्था छ। नयाँ पद्धति अनुसार सबै विषयमा ३५ प्रतिशतभन्दा कम अङ्क ल्याउनेलाई ‘नन ग्रेडेड’ मा राख्ने व्यवस्था छ।
दुई विषयसम्म नन ग्रेडिङमा परे तत्कालै ग्रेडवृद्धि परीक्षा दिन पाइने व्यवस्था छ भने त्यसभन्दा धेरै विषयमा नन ग्रेडिङमा परे अर्को वर्ष ती विषयको परीक्षा दिन पाइने व्यवस्था गरिएको छ। यसअघि दुईभन्दा धेरै विषयमा नन ग्रेडिङ आए सबै विषयको परीक्षा दिनुपर्ने व्यवस्था थियो।
एसईईको नतीजा कुन पद्धतिमा गर्ने भन्ने विषयमा राष्ट्रिय परीक्षा बोर्डको बैठकले निर्णय गर्ने अध्यक्ष शर्माले बताए। आजै बैठक बसेर यसबारे निर्णय हुने उनको भनाइ छ। –रासस