फूल टिप्न जाँदा जङ्गली हात्तीले कुल्चेर मृत्यु
चालू आर्थिक वर्षमा मात्र झापामा हात्तीको आक्रमणबाट आठ जनाको ज्यान गएको छ।
मेचीनगर नगरपालिका–१० मा आज बिहान जङ्गली हात्तीले कुल्चेर एक वृद्धाको मृत्यु भएको छ। मृत्यु हुनेमा ८० वर्षीया पन्नादेवी साह रहेकी वडा नम्बर १० का वडाध्यक्ष नारायण खनालले बताए।
पूजाका लागि फूल टिप्न जाने क्रममा आज बिहान साहलाई सडकमा हात्तीले कुल्चेर मारेको खनालले जानकारी दिए। सिलगुढी निवासी मृतक साह एक वर्षअघिदेखि छोरीको घरमा बस्दै आएकी थिइन्।
झापामा ६ दिनअघि मात्र जङ्गली च्याउ टिप्ने क्रममा हल्दिबारी गाउँपालिका–२ मा ५३ वर्षीय गिरेन कर्मकारलाई जङ्गली हात्तीले किल्चेर मारेको थियो। डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले चालू आर्थिक वर्षमा मात्र जिल्लामा हात्तीको आक्रमणबाट आठ जनाको ज्यान गएको जानकारी दिए।