कोशीमा मुख्यमन्त्रीका लागि दाबी गर्न आह्वान
कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्रीमा दाबी गर्न आह्वान गरेका छन्।
विश्वासको मत हासिल गर्न नसकेपछि शुक्रबारबाट मुख्यमन्त्री हिक्मतकुमार कार्की पदमुक्त भएका थिए। आइतबार अपराह्न प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति जारी गर्दै असार २१ गते अपराह्न ५ बजेसम्म दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री दाबी गर्न आह्वान गरेको जनाएको छ।
नेपालको संविधान धारा १६८ को उपधारा (२) बमोजिम वा उपधारा (३) बमोजिम, कुन उपधारा बमोजिम मुख्यमन्त्री नियुक्त गरी सरकार गठन गर्नुपर्ने हो भनी प्रदेश प्रमुख खापुङले महान्यायाधिवक्तासँग कानूनी राय लिएका थिए। आज महान्यायाधिवक्ताबाट राय प्राप्त भएको विज्ञप्तिमा जनाइएको छ।
प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने कोशी प्रदेश सभाको सदस्यलाई मुख्यमन्त्री नियुक्त गरी प्रदेश मन्त्रिपरिषद् गठन गरिने बताइएको छ।
गत पुस २५ मा चार दलको समर्थनमा मुख्यमन्त्री बनेका कार्की नेतृत्वको सरकार माओवादी र जनता समाजवादी पार्टीले समर्थन फिर्ता लिएपछि ढलेको हो। नेपाली कांग्रेस, माओवादी र एकीकृत समाजवादीले नयाँ सरकार गठनका लागि तयारी गरिरहेका छन्।