चेपाङ बस्तीमा तीन ‘च’ अभियान
चिउरी र चमेरो संरक्षणका लागि मकवानपुरको चेपाङ बस्तीमा सञ्चालित तीन ‘च’ को अभियान प्रभावकारी बन्दै गएको छ।
डिभिजन वन कार्यालय, मकवानपुरले तीन वटा ‘च’ कार्यक्रम सञ्चालन गरेको छ। जसमा चिउरी, चमेरो र चेपाङ बस्ती जोडिएका छन्। चेपाङ बस्तीमा सञ्चालित यो कार्यक्रमले चिउरी र चमेरो संरक्षणमा गति लिएको छ।
कार्यालयको पहलमा मकवानपुरमा चिउरीका पाँच हजार बिरुवा रोपिएका छन् भने सिन्धुली, धादिङ, चितवनबाट पनि बिरुवा माग आउन थालेको जनाइएको छ। विगतमा चिउरीलाई बेवास्ता गर्ने स्थानीय बासिन्दा हाल चिउरी संरक्षण अभियानमा सक्रिय हुन थालेका छन्। स्थानीय महिलाले चिउरीको बिरुवा माग गर्न थालेको कबुलियत वन महासंघ, मकवानपुरका अध्यक्ष सुन्तली चेपाङ बताउँछिन्। “चाँडै फल्ने कलमी बिरुवाको माग बढेको छ,” सुन्तली भन्छिन्।
चिउरी र चमेरो बचाउन चेपाङ समुदायलक्षित प्रोत्साहन कार्यक्रम चलाउनुपर्ने धारणा युवा अगुवा रवीन्द्र चेपाङको छ। चेपाङ बाहेक अन्य समुदायलाई पनि चिउरीको महत्त्व बुझाउनुपर्ने दक्षिणकाली सामुदायिक वनका अध्यक्ष रमेश चेपाङ बताउँछन्। “चिउरीको संरक्षण चेपाङले मात्रै गर्नुपर्छ भन्ने छैन,” रमेश भन्छन्।
राज्यले सालको बिरुवा संरक्षण गरे जस्तो चिउरीको संरक्षण गर्नुपर्ने तर्क केहीको छ। “घरछेउमा चिउरीको रूख भएकालाई पनि चिउरी संरक्षणमा चासो छैन। त्यसैले पहिला त स्थानीय स्तरमा जनचेतना व्यापक हुनुपर्यो,” रमेश भन्छन्।
धिराङ चिउरी सामुदायिक वन उपभोक्ता समिति अध्यक्ष हबिल चेपाङले वन क्षेत्रमा चिउरीका दुई हजार बिरुवा रोपिएको बताए। धिराङ चिउरी सामुदायिक वनमा चिउरी संरक्षण भएको छ भने चिउरीको घ्यूको उत्पादन पनि बढेको छ। “तर, बजारको समस्या छ,” हबिल भन्छन्।
चिउरी संरक्षणमा राज्यले नै ध्यान दिनुपर्ने धारणा बागमती प्रदेश भौतिक पूर्वाधार पूर्वराज्यमन्त्री सन्तबहादुर चेपाङको छ। “चमेरो नहुनु भनेको चिउरी सकिनु हो भन्ने चेतना विस्तार गर्नुपर्ने आवश्यकता छ,” उनी भन्छन्।
चिउरीको संरक्षण गरी उत्पादन बढाउन आफूहरू तयार रहे पनि बजारीकरणमा समस्या भएकाले स्थानीय सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने राक्सिराङ गाउँपालिका-१ का देव लामा बताउँछन्।
उता, गाउँपालिका अध्यक्ष राजकुमार मल्ल चेपाङ समुदाय घ्यू उत्पादनमा अग्रसर भए बजार प्रवर्द्धनकाे जिम्मा पालिकाले लिने बताउँछन्। “उत्पादन बढाउनुहोस्, बिक्रीको जिम्मा गाउँपालिकाले लिन्छ भनेका छौं,” अध्यक्ष मल्ल भन्छन्।
बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम २०७९/८० मा चेपाङ समुदायको उत्थानका लागि चेपाङ, चिउरी र चमेरो संरक्षण कार्यक्रम ल्याएको थियो। आगामी बजेटमा यो विषयलाई समेटिने बागमती प्रदेश वन तथा वातावरणमन्त्री मसिना खड्काले बताइन्।
‘चिउरी पकेट क्षेत्र’ घोषणा गरी प्रदेश तथा स्थानीय तहका प्राथमिक कार्यक्रमका रूपमा संरक्षण कार्यक्रम गर्न २० वर्षे ‘मुख्यमन्त्री चिउरी प्रवर्द्धन आयोजना’ मार्फत छुट्टै कर्मचारी सहित काम अगाडि बढाउनुपर्ने बागमती प्रदेश वन तथा वातावरण मन्त्रालय सचिव यज्ञनाथ दाहाल बताउँछन्।
के हो चिउरी?
डिभिजन वन कार्यालय, राप्तीका प्रमुख विष्णुप्रसाद आचार्यका अनुसार बहुउपयोगी, बहुआयामिक चिउरीको वैज्ञानिक नाम ‘डिप्लोनेमा ब्युटारेसिया’ हो। यसलाई अंग्रेजीमा ‘बटर ट्री’ भनिन्छ, जुन ‘स्यापोटेसिया’ परिवार अन्तर्गत पर्छ।
चिउरीको रूख २०-२५ मिटरसम्म अग्लो र १०-१५ फुटसम्म गोलाइ हुने गर्छ। सामान्यतया चिउरीको बोट १०० वर्षसम्म बाँच्छ। चिउरीलाई संस्कृतमा मधुपुष्प, हिन्दीमा फुल्वारा, तामाङले च्युम्ली, राईले इसी, लिम्बूले इम्सेबा, थारूले चिहुली, नेवारले इबुची पुमा भनिन्छ। चेपाङ भाषामा चिउरीलाई ‘यो’ भनिन्छ भने यसको फललाई योसाई, बियाँलाई युलुङ र फूललाई योरोे भनिन्छ।
२०-२५ वटा फूल एकैपटक फुल्ने चिउरीका फल साना, अन्डाकार तथा दुई सेन्टिमिटरसम्मका हुन्छन्। फलको बाहिरी भाग गुदीयुक्त, रसदार र स्वादिष्ट हुन्छ भने बीचमा बियाँँ रहेको हुन्छ।
चिउरी नेपालमा चुरे तथा महाभारत क्षेत्रको ३०० मिटरदेखि एक हजार ६०० मिटर उचाइसम्म फैलिए पनि एक हजार ८०० मिटरको उचाइसम्म पाइएको छ। नेपालको पूर्वदेखि पश्चिमका चुरे क्षेत्र र महाभारतको तल्लो भेगमा बढी फल्ने चिउरी ५३ जिल्लामा पाइने आचार्य बताउँछन्। नेपालमा पूर्वको तुलनामा मध्य र पश्चिमी भेगमा चिउरीको राम्रो उपस्थिति छ। बागमती प्रदेशमा मकवानपुर, चितवन, धादिङ चिउरी पाइने प्रमुख जिल्ला हुन्।
मकवानपुरको राक्सिराङ वडा नं. ६, ७ र ८ चिउरी अधिक भएको ठाउँ हो। त्यस बाहेक खैराङ, कैलाश, सरिखेत, पलाँसे, नामटार, कालिकाटार, भैंसे, मकवानपुरगढी, बकैयामा पनि चिउरी पाइन्छ। साथै, चितवनको सिद्धि, कोराक, लोथर, शक्तिखोर, काहुले, दारेचोक, चण्डीभन्ज्याङ, इच्छाकामनामा पनि चिउरी पाइन्छ।
विगतमा धादिङको रोराङ, धुसा क्षेत्रमा पनि पाइने गरेका चिउरीका रूख रोगका कारण सकिए। भएका बोट पनि दाउराका लागि काटिंदा हाल त्यो क्षेत्रमा चिउरी नरहेको आचार्य बताउँछन्।
नेपालमा वाय, लान्य, चितीय र तोम्य गरी चार प्रकारका चिउरी पाइन्छन्। चिउरीको फूल फुल्ने समय प्रजाति अनुसार मंसीरदेखि वैैशाखसम्म रहेको पाइन्छ।
चिउरीको सहप्रजातिमा साल, अस्ना, कोइरालो, सिमल, अमला, बोटधयेंरो, टाटरी लगायत प्रजाति हुन्। प्राकृतिक अवस्थामा हुर्केको चिउरीको बोटमा फूल फुल्न १० वर्ष लाग्छ, तर जल, मल र प्रकाश पुगेको स्थानमा सात-आठ वर्षमा फल लाग्छ। राम्रो उत्पादन भने करीब १२-१५ वर्षपछि दिन सक्छ।
उपयोगी चिउरी
चिउरीको पातदेखि बियाँ, फल, फूल, रूख उपयोगी हुन्छ। यसको स्याउला गाईबस्तुले रुचाउँछ। सुक्खा मौसममा घाँसको अभाव हुँदा यसको स्याउला वस्तुभाउलाई खुवाउन उपयोगी हुन्छ। पातबाट दुनाटपरी बनाएर पनि आर्थिक उपार्जन गर्न सकिन्छ।
चिउरीको मह पनि हुन्छ। आचार्यका अनुसार चिउरीको फूलमा गुलियोपना चिनीको भन्दा ४० प्रतिशत अधिक हुन्छ। प्रकृतिमा रहेका अन्य बिरुवाको तुलनामा यसको फूलको रस अत्यन्त गुलियो हुने र लामो समयसम्म रहने हुनाले मौरीपालक किसानले यसको फूल फुल्ने समयमा ५-६ पटकसम्म मह काढ्ने गर्छन्।
यसको फल आकर्षक, पोषिलो र गुलियो हुन्छ। यसको सर्वत बनाएर पनि खान सकिन्छ। चिउरीको फलभित्र बियाँ हुन्छ, जसलाई बिजुला पनि भनिन्छ। एउटा रूखमा औसतमा ६५ केजीभन्दा बढी चिउरी फल्छ।
बियाँबाट घ्यू (बोलीचालीमा घ्यू भनिए पनि वास्तवमा यो तेल हो) बनाएर प्रयोग गरिन्छ। चिउरीको बियाँबाट कुल तौलको ४० प्रतिशतसम्म तेल निस्कन्छ। यसको घ्यू पूजाआजामा मन्दिर, गुम्बामा अधिक प्रयोग हुने गरेको छ। घरायसी उपयोगका लागि तरकारीमा भुटनका रूपमा तथा सेलरोटी पकाउन पनि प्रयोग गर्ने गरिएको छ।
चिउरीको घ्यूलाई मैनबत्ती, चकलेट तथा विभिन्न सौन्दर्य प्रशाधन सामग्री बनाउन पनि प्रयोग गरिन्छ। साथै हातखुट्टा फुटेको ठाउँमा लगाउन र अनुहारको दाग हटाउन पनि यसको क्रीमको प्रयोग गरिन्छ।
चिउरीको तेल निकालेपछि बाँकी छोक्रालाई पिना अन्नबालीमा कम्पोस्ट मल र कीटनाशकका रूपमा प्रयोग गर्न सकिन्छ। कीरा, कमिला, गभारोबाट बाली बचाउन यो उपयुक्त हुन्छ। बिजुलाको बोक्राको रस गाईवस्तुको पेटमा कीरा पर्दा, किर्ना लाग्दा, जुका पर्दा खुवाउने गरिन्छ।
चिउरीका काठ तथा दाउरा बलिया र राम्रा मानिन्छन्। सुक्खा, चट्टानी भूमिमा पनि सहज बाँच्न सक्ने, प्रायः भिरालो जमीनमा चिउरी भूक्षय नियन्त्रणकोे दीर्घकालीन समाधान हो।
तीन ‘च’ को सम्बन्ध
चेपाङ समुदाय शदियौंदेखि चिउरीमा निर्भर हुनु, चमेरोसँग नाता जोडिनु उल्लेख्य पाटो छ। मुख्य कारण चेपाङ समुदायको प्रकृतिमा निर्भरता त्यो वेलाको आर्थिक, सामाजिक परिवेश र विकासको अवस्था प्रमुख थियो। चिउरीसँग चेपाङ समुदायको पारस्परिक र प्रगाढ सम्बन्ध छ। ‘जहाँ चेपाङ, त्यहाँ चिउरी’ भन्ने उखान चर्चित छ।
“कुनै समय चिउरी चेपाङ समुदायको आर्थिक स्रोतको मुख्य आधार थियो,” स्थानीय अगुवा रवीन्द्र चेपाङ भन्छन्, “चिउरीको बियाँलाई परम्परागत चेपुवामा पेलेर तेल निकाली बेच्ने र चिउरीको बियाँँ बेचेर चाडपर्व र गर्जो टार्ने चलन थियो। अहिले चिउरीप्रतिको निर्भरता कम भए पनि सांस्कृतिक महत्त्व छँदै छ।” पछिल्लो समय ‘जहाँ चेपाङ त्यहाँ चिउरी, जहाँ चिउरी त्यहाँ मौरी’ भन्न थालिएको उनी सुनाउँछन्।
आर्थिक रूपमा पिछडिएको चेपाङ समुदायमा छोरीको बिहेमा चिउरीको बोट उपहार दिने चलन छ। विवाहिता छोरीलाई मह, तेलघ्यूको अभाव नहोस् भनेर माइतीले चिउरीका ठूलो बोट नै उपहार दिने र चेली माइत आउँदा त्यही रूखको तेलघ्यू घर लैजाने परम्परा अझै पाइन्छ।
२०४६ सालअघि चिउरीको संरक्षण र सदुपयोग गर्न रूख संख्या तोकेर नै जिल्ला वन कार्यालय, मकवानपुरबाट सिलिङे, दामराङका चेपाङ समुदायका व्यक्तिलाई चिउरी पुर्जा जारी गर्ने चलन थियो। यसरी व्यक्तिलाई तोकेर पुर्जा जारी गर्दा स्वामित्व पनि रहने र परिवार नै चिउरीको संरक्षणमा लाग्ने भएकाले यसो गरिएको हुन सक्ने आचार्य बताउँछन्।