निजी विद्यालयका शिक्षकलाई पनि सरकारी सरह तलब दिनुपर्ने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)को निर्णयको शिक्षकहरूले स्वागत गरेका छन्।
संस्थागत विद्यालय शिक्षक युनियनका अध्यक्ष होमकुमार थापाले आइतबार प्रेस विज्ञप्ति जारी गरी मेयर साहको निर्णयप्रति समर्थन जनाएका हुन्। “शिक्षाका माथिल्ला निकायदेखि तल्ला निकायसम्म बारम्बार हाम्रा समस्या राख्दा कुनै प्रतिक्रिया नआइरहेको वेलामा काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबाट जुन अभिव्यक्ति आको छ, त्यो अत्यन्त स्वागतयोग्य छ,” अध्यक्ष थापाले भनेका छन्, “हाम्रो यसमा स्वागत, समर्थन र सहयोग पनि छ।”
मेयर साहले काठमाडौं महानगरभित्रका संस्थागत विद्यालयले शिक्षकहरूलाई सामुदायिक विद्यालय सरह तलब दिनुपर्ने बताएका थिए। कुनै विद्यालयले सामुदायिक सरह तलब नदिए महानगरमा उजुरी गर्न पनि आह्वान गरेका थिए।
यसको महानगरपालिकाभित्रका संस्थागत विद्यालयका सञ्चालक, नगर प्याब्सन र एनप्याब्सले विरोध जनाएका थिए। उनीहरूले संस्थागत विद्यालयका शिक्षकलाई सामुदायिक विद्यालयका शिक्षक सरह तलब दिन नसकिने प्रतिक्रिया दिएका थिए।
यसलाई लिएर पनि संस्थागत विद्यालय शिक्षक युनियनले विरोध जनाएको छ। ‘जब शिक्षक कर्मचारीको तलब वृद्धि र सरकारी सरह तलब दिनुपर्ने कुरा आउँछ, विद्यालय सञ्चालक, प्याब्सन र एनप्याब्सनमा किन यति धेरै छटपटाहट हुन्छ? के विद्यालयको आर्थिक पाटो थोरै तलब लिएर शिक्षकले मात्रै धानिदिनु पर्ने हो?’ युनियनले भनेको छ, ‘हरेक चोटि शिक्षककै तलबको सवाल आउँदा हामी विद्यालय बन्द गर्छौं किन भनिन्छ? यसले शिक्षकमाथि चरम शोषण छ भन्ने कुराको थप पुष्टि गर्छ।’
युनियनले मेयर साहको समर्थन गर्दै समान तलबका लागि आन्दोलनमा उत्रिन आह्वान गरेको छ। युनियनले भनेको छ, ‘देशभरका सम्पूर्ण पालिकाहरूलाई यसै विज्ञप्ति मार्फत शिक्षकको न्यूनतम सरकारले तोकेको तलब प्राप्त गर्ने अधिकारका पक्षमा न्याय दिलाउन आह्वान गर्दछौं।’