अदालतका कर्मचारी कुट्ने वकील विरुद्ध अभद्र व्यवहारमा मुद्दा चलाउनुपर्ने प्रहरीको निचोड
जिल्ला अदालत, ललितपुरकी कर्मचारी र वकीलबीच कुटाकुट भएको घटनाको अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकीलको कार्यालयमा बुझाएको छ।
असार १३ गते नायब सुब्बा प्रेमिका तामाङ र वकील अमिर लामिछानेबीच कुटपिट भएको थियो। लामिछानेलाई अभद्र व्यवहारमा कारबाही गर्नुपर्ने अनुसन्धानको निचोड रहेको जिल्ला प्रहरी परिसर, ललितपुर स्रोतले बताएको छ।
एउटा मुद्दाको वारेस रहेका लामिछानेले मिसिलको सक्कल अध्ययनका लागि माग्दा विवाद भएको थियो। नायब सुब्बा तामाङले सक्कलको साटो फोटोकपी मात्र दिन मिल्ने बताएपछि लामिछानेले जबर्जस्ती फाइल खोसेको र त्यस क्रममा तामाङले फाइल खोस्दा लामिछानेमाथि सामान्य हातपात भएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
“जबर्जस्ती फाइल लगेपछि खोस्दा धक्कामुक्का हुँदा लामिछानेलाई चोट लागेको छ। यसलाई तामाङले हात हालेको भन्ने कि फाइलको सुरक्षा गरेको?” एक प्रहरी अधिकारीले अनुसन्धान प्रतिवेदन उद्धृत गर्दै भने, “त्यसपछि लामिछानेले हात हाल्दा तामाङको ओठ काटिएको छ।”
फाइल खोस्ने क्रममा तामाङको लुगा समेत च्यातिएको छ। घटना लगत्तै तामाङले प्रहरीमा जाहेरी दिएकी थिइन्। लामिछाने सोही दिन पक्राउ परेका थिए।
प्रहरीले अनुसन्धानका क्रममा अदालतसँग सीसीटीभी फूटेज मगाए पनि बिग्रिएकाले घटनाअघि नै मर्मत गर्न दिएको जवाफ पाएको थियो। त्यसपछि प्रहरीले प्रत्यक्षदर्शी, आरोपकर्ता र आरोपितको भनाइलाई आधार मानेर अनुसन्धान गरेको थियो।
कर्मचारीमाथि हातपात भएको विरोधमा देशभरका अदालतमा कर्मचारीले आज सेवा अवरुद्ध गरेका थिए।
तामाङले दिएको जाहेरीमा अनुसन्धान भएर प्रतिवेदन सरकारी वकीलको कार्यालयमा बुझाएकै दिन लामिछाने पक्षबाट समेत तामाङले अभद्र व्यवहार गरेको भन्दै जाहेरी आएको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सिद्धिविक्रम शाहले बताए।
तर, सोही घटना अनुसन्धान सकिएर प्रतिवेदन तयार भइसकेकाले सरकारी वकीलको कार्यालयको रायपछि मात्रै दर्ता गर्ने वा नगर्ने निर्णय हुने शाहको भनाइ छ। “हामीले यसबारे राय मागेर चिठी लेखेका छौं, जवाफ आएपछि सोही अनुसार हुन्छ,” उनले भने।