ललिता निवास क्षेत्रका संरचना हटाउन महानगरको निर्देशन (तस्वीरहरू)
बालुवाटारको ललिता निवास क्षेत्रका अस्थायी संरचना हटाउन काठमाडौं महानगरपालिकाले निर्देशन दिएको छ।
महानगरको टोली आइतबार ललिता निवास क्षेत्र पुगेको थियो। त्यहाँ रहेका अस्थायी संरचना हटाउन निर्देशन दिएको महानगर नगर प्रहरीका प्रमुख राजु पाण्डेले बताए। उनका अनुसार त्यो क्षेत्रमा नयाँ संरचना बनिरहेको सूचना पाएपछि महानगरको टोली पुगेको हो।
ललिता निवास क्षेत्रमा गोदामका रूपमा प्रयोग गर्न अस्थायी संरचना बनेका छन्। “नयाँ संरचना नबनाउन र बनेका संरचना हटाउन सात दिनको म्याद दिएका छौं,” पाण्डेले भने। महानगर क्षेत्रभित्रको सार्वजनिक जग्गा संरक्षणको जिम्मेवारी स्थानीय सरकारको भएकाले काठमाडौं महानगरले पहल गरेको उनको भनाइ छ।
ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा सारिएको विषयलाई लिएर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गरिरहेको छ। यसमा पाँच जना पूर्व मन्त्री सहित २२० जना संलग्न रहेको सीआईबीको निष्कर्ष छ।
यो प्रकरणमा भाटभाटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ सहित चार जनालाई पक्राउ गरेको छ। अन्य व्यक्तिमाथि छानबिन भइरहेको सीआईबीले जनाएको छ।