बलात्कारका आराेपीसँग मिलापत्र!
क्षतिपूर्ति बापत रु १ लाख ५० हजार दिएर सामूहिक बलात्कारको घटना गाउँमै मिलाइएको पाइएको छ ।
मोरङ रंगेली ९ सखुवाथानमा भएको बलात्कारको घटनामा मिलापत्र भएपछि प्रहरीले थाहा पाएर आरोपीलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार, गत २० असारमा शारीरिक रूपमा अशक्त १६ वर्षीया किशोरीलाई ३ युवाहरू मिलेर सामूहिक बलात्कार गरेका थिए ।
घटना बाहिर आएपछि स्थानीयले पीडितलाई सहीछाप गराएर मिलापत्र गराएका थिए ।
बलात्कारमा संलग्न रहेको आरोपमा स्थानीय रोमन मगर (२५) र प्रिन्स अधिकारी (२४) लाई प्रहरीले आइतबार पक्राउ गरी सार्वजनिक गरेको छ ।
अर्का आरोपी सबिन चौधरी (२३) फरार रहेकाले पक्राउ गर्न नसकिएको प्रहरीले बताएको छ ।
उनीहरूलाई आइतबार नै जबरजस्ती करणीको मुद्दामा म्याद थप गरी हिरासतमा राखिएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक कवीन्द्रकुमार कार्कीले बताए ।
घटना बारे ढिलो थाहा भएकाले अनुसन्धान गरी आरोपीलाई पक्राउ गरिएको उनको भनाइ छ ।
“बलात्कारको घटनामा मिलापत्र गराइएको एक कान दुई कान मैदान भएपछि अनुसन्धान गरेर आरोपीलाई पक्राउ गरेका हौं”, निरीक्षक कार्कीले भने ।
मिलापत्र गराउने व्यक्ति माथि पनि अनुसन्धान हुने प्रहरीले बताएको छ । २६ असारमा भएको मिलापत्रमा ६ साउनमा रकम दिने उल्लेख छ ।