पछिल्लो ६ महीनामा चार लाख ७६ हजार विदेशी पर्यटक आए
पछिल्लो ६ महीनामा चार लाख ७६ हजार विदेशी पर्यटक नेपाल आएका छन्।
नेपाल पर्यटन बोर्डले आइतबार सन् २०२३ को ६ महीनामा आएका पर्यटकको संख्या सार्वजनिक गरेको छ। यो सन् २०१९ को तुलनामा ८३ प्रतिशत ‘रिकभर’ रहेको बोर्डले जनाएको छ।
सन् २०२० को शुरूआतदेखि कोरोनाभाइरसको महामारी शुरू भएपछि पर्यटकको संख्या घट्दै गएको थियो। यो वर्ष विदेशी पर्यटकको संख्या पहिलेकै अवस्थामा आउन थालेको हो।
बोर्डका अनुसार सन् २०१९ को जनवरीदेखि जूनसम्म पाँच लाख ३६ हजार ५८ विदेशी पर्यटक नेपाल भित्रिएका थिए। साथै, सोही अवधिमा कोरोना महामारी शुरू भएको वर्ष सन् २०२० मा दुई लाख २० हजार ८१५, सन् २०२१ मा ५८ हजार ५८ र सन् २०२२ मा दुई लाख ४० हजार ९०१ जना विदेशी पर्यटक नेपाल आएका थिए।
बोर्डका अनुसार यस वर्षको जनवरीदेखि जूनसम्म नेपाल भित्रिने विदेशी पर्यटकको सङ्ख्या गत वर्षको तुलनामा ९७.७९ प्रतिशतले बढी हो। त्यस्तै, कोरोनाअघि सन् २०१९ को तुलनामा १६.९३ प्रतिशतले कम हो।
यस वर्षको जनवरीमा ५५ हजार ७४, फेब्रुअरीमा ७३ हजार २४४, मार्चमा ९९ हजार ४२६, अप्रिलमा ९८ हजार ७७३ र मेमा ७७ हजार ७०३ विदेशी पर्यटक नेपाल आएका थिए। साथै, जूनमा ७२ हजार २५० जना विदेशी पर्यटक नेपाल आएका छन्।
जून महीनामा भारतबाट ३८ हजार ८४५, अमेरिकाबाट आठ हजार ४७०, चीनबाट चार हजार ३४३, बाङ्लादेशबाट दुई हजार ४०२, बेलायतबाट एक हजार ९९२, अस्ट्रेलियाबाट एक हजार ६३९, मलेशियाबाट एक हजार ७९, दक्षिण कोरियाबाट ८८८, जापानबाट ७६४ र भुटानबाट ७०२ जना पर्यटक नेपाल आएका छन्।