नारायणगढ-मुग्लिन सडक खुल्न समय लाग्ने, अर्को ढिस्को पनि खस्ने अवस्थामा
पहिरोको ढिस्को नै झरेकाले पन्छाउन समय लागेको हो।
नारायणगढ-मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाउन अझै समय लाग्ने भएको छ। इच्छाकामना गाउँपालिका-५ तीन नम्बर पुलमा गए राति पहिरो खसेको थियो।
डिभिजन सडक कार्यालय चितवनका प्रमुख रमेशकुमार पौडेलका अनुसार थप पहिरो नखसे केही घण्टापछि सडक खुलाउन सकिने छ। यद्यपि, पहिरोको एउटा ढिस्को नै झरेकाले पन्छाउन समय लागेको उनको भनाइ छ। “अर्को ढिस्को पनि खस्ने अवस्थामा छ,” पौडेलले भने।
सो स्थानमा बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेको छ। छिनछिनमा पहिरो खस्दा यातायात अवरुद्ध हुँदै आएको छ।
दैनिक औसतमा १० हजार सवारीसाधन आउजाउ गर्ने यो सडकखण्डमा गत बिहीबारदेखि पटक पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ।