दुईतर्फी नै अवरुद्ध भयो नारायणगढ–मुग्लिङ सडक
बिहीबारदेखि पटक पटक पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध हुँदै आएको छ।
नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ। चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा गए राति पहिरो खसेपछि सडक दुवैतर्फ अवरुद्ध भएको हो।
अहिले पहिरो पन्छाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ। पहिरोमा विद्युत्को तार रहेको र सो तार हटाएपछि पहिरो पन्छाउन शुरू गरिने प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए। पहिरो हटाउने उपकरण तयारी अवस्था रहेको उनले बताए।
सो स्थानमा गत बिहीबारदेखि पटक पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ। यो सडक हुँदै दैनिक औसतमा १० हजार सवारीसाधन आउजाउ गर्ने गर्छन्। पटक पटक सडक बन्द हुँदा पूर्व-पश्चिम हुँदै काठमाडौं ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन्।