भारत र कुवेत साफ च्याम्पियनशिपको फाइनलमा
भारतमा जारी २०२३ बंगबन्धु साफ च्याम्पियनशिपको फाइनलमा आयोजक भारत र आमन्त्रित टोली कुवेत भिड्ने भएका छन्।
अर्को आमन्त्रित टोली लेबनानलाई सडनडेथमा पराजित गर्दै भारतले फाइनल यात्रा तय गरेको हो। फाइनल आगामी मंगलबार हुनेछ।
निर्धारत ९० मिनेट र थपिएको ३० मिनेटमा दुवै टोलीबाट गोल हुन नसकेपछि फाइनल पुग्ने टोली पेनाल्टी शूटआउटबाट तय गरिएको थियो। पेनाल्टीमा भारत ४-२ गोल अन्तरले विजयी भएको हो।
आजै भएको पहिलो सेमिफाइनलमा कुवेतले बाङ्लादेशलाई १-० गोलले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो। कुवेतका लागि अब्दुलाह अमारले १०७औं मिनेटमा निर्णायक गोल गरेका थिए।
भारत साफ च्याम्पियनशिपको सर्वाधिक सफल टोली हो। उसले आठ पटक साफ च्याम्पियनशिप जितिसकेको छ।
कुवेत र लेबनान पहिलो पल्ट साफ च्याम्पियनशिपमा सहभागी भएका हुन्।
साविक उपविजेता नेपाल भने समूह चरणबाटै बाहिरिएको थियो। पाकिस्तानलाई पराजित गरेको नेपाल कुवेत र भारतसँग भने पराजित भएको थियो। नेपालका लागि पाकिस्तान विरुद्ध आशिष चौधरी र कुवेत विरुद्ध अञ्जन विष्टले गोल गरेका थिए।