नारायणगढ-मुग्लिन सडक सञ्चालन
दुई वटा पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा आएको छ।
वर्षा शुरू भएसँगै चितवनको नारायणघाटस्थित तुइन पुल नजिकै र नाम्सीमा पहिरो खसेको थियो। शनिबार बिहान खसेको पहिरो पन्छाएको केही समयपछि फेरि ढुङ्गा खसेको थियो। जसले गर्दा सडक अवरुद्ध भएको थियो।
दुवै स्थानको पहिरो पन्छाएर सडक सञ्चालन भएको सडक डिभिजन कार्यालय, भरतपुरले जनाएको छ। दिउँसो केहीबेर एकतर्फी सञ्चालनमा आएको सडक अहिले भने दुईतर्फी नै सञ्चालन भएको छ।
यसअघि बिहीबार पनि पहिरोले सडक अवरुद्ध भएको थियो। १८ घन्टा लगाएर पहिरो पन्छाइएको थियो भने शुक्रबार साँझदेखि सञ्चालनमा आएको थियो।
शुक्रबार राति सडक सञ्चालनमा आए पनि शनिबार बिहान ३ बजे फेरि पहिरो खसेको हो। बिहान केही घन्टा लगाएर पन्छाएको ठाउँमा दिउँसो ढुङ्गा खसेको थियो। दिनभर लगाएर सबै ठाउँको पहिरो पन्छाएको सडक डिभिजन कार्यालयले जनाएको छ।
वर्षा शुरू भएसँगै नारायणगढ-मुग्लिन सडकमा पहिरो जाने क्रम पनि शुरू भएको छ। सडक विस्तारको काम चलिरहेकाले पनि पहिरो गइरहेको जनाइएको छ।