शासन राम्ररी चलेको छैन, भ्रष्टाचार व्याप्त छ: माधव नेपाल
सत्तारूढ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सरकारका कामकारबाहीप्रति असन्तुष्टि जनाएका छन्।
पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले शासन राम्रोसँग चल्न नसकेको टिप्पणी गरेका छन्। संसद् दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै नेपालले जनअपेक्षा अनुसार विकास निर्माणका काम हुन नसकेको बताएका हुन्।
“अहिले देशको विकास यात्रालाई अगाडि बढाउनुपर्ने छ,” नेपालले भने, “तर, जनताले अपेक्षा गरे बमोजिम विकासले गति लिन सकेको छैन। शासन, प्रशासन चलेको छैन। अहिले पनि भ्रष्टाचार व्याप्त छ।”
भ्रष्टाचार विरुद्ध सबै जनप्रतिनिधि लाग्नुपर्ने उनको भनाइ थियो। “भ्रष्टाचार उन्मूलन गर्नुपर्ने, सुशासनको प्रत्याभूति दिनुपर्ने र जनतालाई सहज सेवा उपलब्ध गराउनुपर्ने हुन्छ। यी सबैमा निगरानी जनताका प्रतिनिधिकै हुन्छ,” उनले भने।
यसका लागि सरकारको भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ थियो। सरकारले त्यतातिर ध्यान नदिए समस्या हुने उनले बताए। “सांसदको भूमिकाको सन्दर्भमा सरकारको भूमिका अर्को महत्त्वपूर्ण हुन्छ,” नेपालले भने, “सुन्नुपर्ने निकायले सुनिदिएनन्, काम गर्नुपर्ने निकायले चासो राखिदिएनन् भने त्यसले ठूलो समस्या खडा गर्छ।”