गगन थापालाई कांग्रेस नेताको प्रश्न- तपाईं र शेरबहादुरमा फरक कसरी देख्ने?
नेपाली कांग्रेस दोलखाका पूर्व सभापति ताराबहादुर कोइरालाले नारा र भाषणले मात्रै सुधार नहुने बताउँदै कार्यशैलीमा परिवर्तन ल्याउन महामन्त्री गगन थापालाई आग्रह गरेका छन्।
शनिबार नेपाली कांग्रेस दोलखा–काठमाडौं सम्पर्क समितिको सम्मेलनमा बोल्दै कोइरालाले शेरबहादुर देउवा र गगन थापामा कार्यशैली फरक हुनुपर्ने जिकिर गरेका हुन्। सम्मेलनमा महामन्त्री थापा प्रमुख अतिथि थिए।
सम्मेलनमा बोल्दै कोइरालाले भने, “गगनजीको पुस्ताले रूपान्तरणको नारा दिनुहुन्छ, हामी विश्वास गरेर पछाडि लाग्छौं। तर, नारा र भाषणले मात्रै पार्टीभित्रको सुधार पनि हुँदैन, शेरबहादुर प्रवृत्तिको अन्त्य पनि हुँदैन, मुलुक रक्षा पनि हुँदैन।”
अहिले देउवा र थापामा खासै फरक नदेखिएको उनको भनाइ थियो। “श्रीमान् गगन थापाज्यू, तपाईं र शेरबहादुर फरक कसरी देख्ने? तपाईंलाई महाधिवेशनमा आफ्नो नजिकका मान्छे केन्द्रीय सदस्य चाहिने, तपाईंका आफ्ना भरौटेहरूलाई टिकट चाहिने, शेरबहादुरलाई पनि त्यही चाहिने,” कोइरालाले प्रश्न गरे, “अनि शेरबहादुर र गगनमा हामीले फरक कसरी देख्ने?”
त्यसका लागि व्यवहारमै परिवर्तन ल्याउनुपर्ने उनको सुझाव थियो। “शेरबहादुरले गुटबन्दी गर्यो, भ्रष्टाचार गरेर पैसाको आधारमा राजनीति गर्यो भन्ने,” कोइरालाले थपे, “तपाईं ‘म गुटबन्दी गर्दिनँ, भ्रष्टाचार गर्दिनँ, डनहरूसँग सम्पर्क राख्दिनँ, तस्कर र माफियाहरूसँग सम्पर्क राख्दैनौं’ भनेर वचनबद्ध हुनै पर्छ।”
यति हुँदाहुँदै पनि कांग्रेस रूपान्तरणका लागि महामन्त्री थापाको पुस्ता अगाडि आउनुपर्ने उनको भनाइ थियो। “यति हुँदाहुँदै पनि नेपाली कांग्रेसको भविष्य, मुलुकको भविष्य भनेको तपाईंहरू हो। तपाईंहरू आँट गर्नुहोस्,” कोइरालाले भने, “रूपान्तरण अनुहारले हुँदैन, खस्रो अनुहारको ठाउँमा चिल्लो अनुहार आउनु मात्रै रूपान्तरण होइन। रूपान्तरण त विचारमा हुनुपर्छ, कार्यशैलीमा हुनुपर्छ, प्रवृत्तिमा हुनुपर्छ।”