गाउँमै अवसर सिर्जना गर्दै होमस्टे
होमस्टेको माध्यमबाट आर्थिक रूपमा सक्षम बनेकी एक महिला अरूलाई पनि आफू जस्तै सक्षम र सबल बनाउन चाहन्छिन् ताकि कोही कसैले कामकै लागि गाउँ छाड्न नपरोस्।
त्यसो त अचेल पोखरा जाने मानिसको कुनै कमी छैन। तर, मौलिक संस्कृतिको अनुभव गर्न भने त्यहाँबाट पनि पश्चिम लाग्नुपर्छ। पोखराबाट चार घण्टाको यात्रा गरेर गल्कोट नगरपालिका-२ को ‘तोरीखोला सामुदायिक होमस्टे’ पुग्ने जोकोहीले गज्जबको प्राकृतिक दृश्यावलोकन त गर्नेछ नै, रैथाने मगर सत्कारले आह्लादित पनि हुनेछ।
६५ घरधुरी भएको गाउँमा १२ परिवारले होमस्टे सञ्चालन गरिरहेका छन्। तिनैमध्ये एक हुन्, ४२ वर्षीया सीता पुन।
लुंगी, चोलो र घलेकमा सजिएर उनी पाहुनालाई अञ्जुलीमा फूल दिएर स्वागत गर्छिन्। अनि भर्खरै आइपुगेका पाहुनालाई दिने खाजा हुन्छ- कोदोको सेल, मकै र गुन्द्रुक। खाना हो- आफ्नै बारीमा फलाएको ताजा तरकारीसँग स्थानीय चामलको भात वा ढिंडो, दाल र कुखुराको मासु।
सीताका अनुसार नेपालभरिबाटै यहाँ पाहुना आइपुग्छन्। एक पटक आएकाले फर्केपछि यहाँको स्वागत, सत्कार र स्वच्छ शान्त परिवेशको बयान गर्छन्।
पाहुनालाई स्वागत गर्ने बाहेक पनि सीताका अनेक काम छन्। तरकारी खेती गर्छिन्। भैंसी पालेकी छन्। दूध दुहुन्छिन्। मोही पार्छिन्। कुखुरा पालेकी छन्। अनि घरमै रक्सी पार्छिन्। उनको घरमा पुग्ने जोकोही पाहुनाले यी सामग्रीको स्वाद लिन सक्छन्।
होमस्टे शुरू हुनुअघि उनको दैनिकी घाँसदाउरामै अल्झेको थियो। “होमस्टेले मलाई आफ्नै खुट्टामा उभ्याएको छ, घरपरिवारसँग पैसा माग्नुपरेको छैन,” उनी सुनाउँछिन्, “पहिला म खुशी थिइनँ। तर, अहिले मसँग घरबाहिर निस्कने र केही गर्ने आँट छ।”
स्थानीय रोमप्रसाद पुनसँग बिहे हुँदा उनी २० वर्षकी थिइन्। बिहे लगत्तै रोमप्रसाद वैदेशिक रोजगारीका लागि मलेशिया गइहाले। कमाएको पैसा जति सासूससुरालाई पठाउँथे, उनको हातमा निकै कम पर्थ्यो।
सीताको अघिल्तिर भने दुःखको पहाड थियो। पति मलेशिया जानुभन्दा केही दिनअघि मात्रै उनको गर्भ खेर गएको थियो। अर्कातर्फ ठूलो परिवार थियो, सबैको हेरचाह गर्ने जिम्मेवारी उनकै थियो। आम बुहारी जस्तै चूपचाप आफ्नो काम गर्ने र पति फर्किने दिनको प्रतीक्षा गर्ने बाहेक उनीसँग त्यति वेला अरू विकल्प थिएन।
त्यति वेला अहिले जस्तो हात हातमा मोबाइल पुगेको पनि थिएन। इन्टरनेट र भिडिओ कलको त कल्पना पनि भएन। मलेशियामा रहेका पतिलाई फोन गर्न एकाध घन्टा हिंडेर बजार पुग्नुपर्थ्यो। बजारमा ल्यान्डलाइन त थियो, तर निकै महँगो। त्यसमाथि फोनमा पतिसँग कुरा गर्ने समय जुराउनै मुश्किल हुन्थ्यो।
“म उहाँको अनुहार हेर्न र आवाज सुन्न आतुर थिएँ,” फोन गर्न बजार जाँदाको समय सम्झिइन्। त्यति वेला पतिलाई मलेशिया फोन गर्न अरूसँग पैसा सापट माग्नुपरेको उनी सुनाउँछिन्।
१० वर्षको मलेशिया बसाइमा उनका पतिले जम्मा एक पटक चिठी पठाए। त्यसमा पनि उनीबारे केही लेखिएको थिएन। तैपनि दिनभरि खेतमा काम गरेपछि थकित बनेकी उनी हरेक रात त्यो चिठी पढ्ने गरेको सुनाउँछिन्।
केही समयपछि एकाएक रोमले घरपरिवारसँग सम्पर्क गर्न छोडे। यसै त एक्ली सीता झनै एक्लो परिन्। खानलाउन पैसा हुनै छोड्यो।
“ओहो, ती निकै दुःखका दिन थिए। म त हताश थिएँ। आफैंले केही गर्न चाहन्थें, तर के गर्ने, कसरी गर्ने थाहा थिएन,” सीता सुनाउँछिन्, “केही गर्ने ढङ्ग पनि थिएन, कसैलाई चिनेकी पनि थिइनँ।”
आखिरमा सात वर्षअघि उनको जीवनमा नयाँ मोड आयो। गल्कोट नगरपालिका र वडा कार्यालयले होमस्टेको प्रस्ताव लिएर आए। उनले त्यो मौका गुमाइनन्।
स्थानीय सरकारले होमस्टेको प्रस्ताव ल्याउनुको कारण थियो, बसाइँसराइ। देशका बसाइँ सर्ने दर बढी भएका जिल्लामा पर्छ बाग्लुङ। कतिसम्म भने गल्कोट बजारमा एउटा न एउटा डाँडाको नाम नै जापान डाँडा छ, किनभने त्यहाँका हरेक घरका कम्तीमा एक जना जापान गएका छन्।
गल्कोटभरि नै ताल्चा लगाइएका घर र बाँझो खेत छन्। रातिपख साह्रै थोरै घरमा बत्ती बल्छ। अधिकांश युवा क्रोएशिया र पोल्यान्ड पुगेको स्थानीय बताउँछन्। तिनका बूढा आमाबुबा काठमाडौं, पोखरा वा चितवन गएका छन्। छोराछोरीले पठाइदिएको पैसाले त्यहीं जिन्दगी कटाइरहेछन्।
त्यसैले नै युवालाई गाउँमै रोक्ने र मगर संस्कृति जोगाउने उद्देश्यले तोरीखोलामा होमस्टे प्रवर्द्धन गरिएको गल्कोटका मेयर भरत शर्मा बताउँछन्। “तोरीखोला प्रकृतिका साथै संस्कृतिमा पनि धनी छ। यहाँ आउन पनि सजिलो छ। त्यसैले यो होमस्टेका लागि एकदमै उपयुक्त छ,” मेयर शर्मा भन्छन्।
होमस्टे शुरू गर्नुअघि अरू ठाउँमा कसरी सञ्चालन भएका छन् भन्ने थाहा पाउन नगरपालिकाले अध्ययन भ्रमण गर्ने निर्णय गर्यो। सीता पनि त्यो भ्रमणमा जोडिइन्। तर, एउटा समस्या आइलाग्यो। उनका पति नेपाल फर्केको अर्को दिन उनको भ्रमण शुरू हुँदै थियो।
पतिले ‘अब म परिवार पालिहाल्छु’ भनेर भ्रमणमा नजान कर गरेको उनी सम्झिन्छिन्। तर, अब पनि पतिमै निर्भर हुने सोचमा थिइनन् सीता।
“मैले उहाँलाई भनें- तपाईं आएकाले होइन, केही सिक्न जान खोजेकी हुँ,” सीता सुनाउँछिन्, “उहाँ फेरि मलेशिया जान नपरोस् भनेर पनि हो। त्यसैले म श्रीमान्लाई घरमा छोडेर भ्रमणमा गएँ।”
त्यति वेला आफूले सही निर्णय गरेको निष्कर्षमा पुगेकी छन् उनी। त्यो भ्रमणमा उनले धेरै थोक सिकिन्। एक वर्षपछि ‘तोरीखोला सामुदायिक होमस्टे’ सञ्चालनमा आयो। अहिले उनका पति रोमप्रसादले सघाइरहेका छन्।
शुरूआतमा सीता र उनका पति सहित पाँच जनाले होमस्टे सञ्चालन गरेका थिए। अहिले होमस्टे सञ्चालक १२ जना पुगिसकेका छन्। गाउँमा रोजगारी सिर्जना गर्न होमस्टेले सहयोग गरिरहेको तोरीखोला सामुदायिक होमस्टेका अध्यक्ष कुमार पुन घर्ती बताउँछन्। घर्ती भन्छन्, “गाउँठाउँमै रोजगारी सिर्जना गरेर युवालाई विदेश जानबाट रोक्ने सबैभन्दा राम्रो उपाय होमस्टे पर्यटन हो।”
कोभिड-१९ महामारीका वेला बन्दाबन्दीका कारण प्रभावित व्यवसाय अहिले फेरि उकालो लाग्दै छ। कोभिडभन्दा पहिला होमस्टे समितिले मासिक डेढ लाख जति कमाउँथ्यो, जुन हरेक सदस्यमा बराबर हिसाबमा बाँडिन्थ्यो। तोरीखोलामा एक रात बसेको खाना सहित एक हजार २०० देखि एक हजार ५०० रुपैयाँसम्म लाग्छ।
होटलभन्दा होमस्टे फरक भएको सीता बताउँछिन्। उनी भन्छिन्, “होमस्टे र होटलमा सबैभन्दा ठूलो फरक के हो भने होटलमा ग्राहकलाई सेवा दिइन्छ, यहाँ पाहुनालाई सत्कार गरिन्छ।”
अहिले पतिको कमाइमा मात्रै निर्भर हुनुनपरेकोमा उनी खुशी छिन्। यससँगै सीता दम्पतीले आफ्ना सन्तानलाई नरेठाँटीकाे बोर्डिङ स्कूलमा पढाइरहेका छन्। “छोराछोरीले सके जति पढून् ताकि पछि गएर म जस्तो हुन नपरोस् भन्ने चाहन्छु,” सीता भन्छिन्।
उनले कक्षा ६ सम्म पढेकी थिइन्। अहिले फेरि स्कूल पढ्न चाहन्छिन्। उनी भन्छिन्, “म अंग्रेजी सिक्न चाहन्छु। सक्छु कि सक्दिनँ थाहा छैन।”
सीता अरूका लागि पनि प्रेरणास्रोत बनेको पूर्व वडा सदस्य एवं होमस्टेका सञ्चालक भक्तबहादुर घर्ती मगर सुनाउँछन्। “जिन्दगीमा निकै दुःख, कष्ट सहिन्, तर हिम्मत हारिनन् र त आज यहाँ छिन्,” भक्तबहादुर भन्छन्।
सानै छँदा हटिया बजारमा आमाबुबाले सञ्चालन गरेको होटलमा काम गरेकाले पनि सेवा क्षेत्रमा आकर्षित भएको सीता सुनाउँछिन्। “मैले सानैमा खाना बनाउन र पाहुनासँग कसरी कुरा गर्नुपर्छ भन्ने सिकेकी थिएँ,” उनी भन्छिन्।
तीन महीनाअघि उनका पति रोम फेरि विदेश गएका छन्। यस पटक भने बेलायत। सीताका ससुरा ब्रिटिश आर्मीमा थिए। उनी बेलायतमै बसेका थिए। ससुराको निधन भएपछि सासूले रोमलाई आफूसँगै बस्न बोलाएको सीताले सुनाइन्।
तर, २२ वर्षअघि भर्खरै बिहे हुँदा जस्तो यस पटक उनी न चिन्तित छिन् न त अत्तालिएकी नै छन्। अहिले त प्रविधि पनि विकसित भएको छ र उनको पहुँचमा पनि छ। दिनहुँ भिडिओ कलमा कुरा हुन्छ। फेरि फुर्सद पनि कहाँ छ र उनलाई? होमस्टे र अरू सामाजिक कामले दिनभर व्यस्त बनाइहाल्छ।
“त्यति वेलाकी सीता र अहिलेकी सीतामा त धेरै परिवर्तन भइसकेको छ,” उनी विगत सम्झिँदै भन्छिन्, “त्यति वेला मलाई केही थाहा थिएन, अहिले त म आफ्नै खुट्टामा उभिएकी छु। आँट छ। आफू, परिवार र समाजकै ध्यान राख्न सक्छु।”
आफूले गरे जस्तै अरू महिलालाई पनि आर्थिक र सामाजिक रूपमा बलियो बनाउने उद्देश्य छ उनको। सीता भन्छिन्, “भविष्यमा सबै महिला व्यवसायी बनून्, लोग्नेको भरमा बस्न नपरोस् भन्ने चाहन्छु। उनीहरू पनि म जस्तै होमस्टेमा जोडिन सक्छन्।”
अंग्रेजीमा पढ्न नेपाली टाइम्समा क्लिक गर्नुहोस्।