पूर्व माओवादी शक्तिबीच एकताको पहल हुँदै छ: दाहाल
प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले पूर्व माओवादी शक्तिबीच एकताका लागि पहल भइरहेको बताएका छन्।
पोखरामा शनिबार माओवादीका उपलब्ध केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका पदाधिकारीसँग अन्तरक्रिया गर्दै अध्यक्ष दाहालले माओवादी कमजोर हुँदा परिवर्तनका मुद्दा समेत कमजोर हुने भएकाले एकताको पहल गरिएको बताए।
“माओवादी कमजोर हुँदा सिङ्गो परिवर्तन कमजोर हुन्छ। हामी शक्तिशाली हुँदा मात्र देश सही दिशामा अगाडि बढ्छ। त्यसैले परिवर्तनका मुद्दा रक्षा गर्ने जिम्मेवारी पनि हाम्रै हो। यसका लागि हामी सबैले देशको पक्षमा सोच्न र काम गर्न जरुरी छ,” दाहालले भने।
उनले जनताले माओवादी नेतृत्वको सरकारमाथि धेरै आशा र भरोसा राखेकाले सबै मिलेर देश निर्माणका पक्षमा लाग्नुपर्नेमा जोड दिए। “हामीभित्र मात्र थपघट गरेर पार्टी पुनर्निर्माण हुँदैन। यस पटक सरकारको नेतृत्व लिंदा परिवर्तन र पार्टी राम्रो बनाउने वातावरणका लागि सोचेको थिएँ,” दाहालले भने, “यसका लागि नयाँ ढङ्गले सोच्दै छौं। हामीसँग इतिहासको तागत छ, त्याग र बलिदानको तागत छ। देश निर्माणका लागि फेरि नयाँ फड्को जरुरी छ। सामाजिक न्याय, सुशासन र समृद्धिका पक्षमा फड्को हान्न खोजिएको छ। यसमा हामी दृढतापूर्वक अघि बढ्नुपर्छ। सरकार यसमा दृढ छ।”
हालै गठन गरिएको समाजवादी मोर्चाले समाजवादको आधार निर्माणका लागि काम गर्ने उनको भनाइ थियो। मोर्चाको बैठक बसेर कार्यक्रम तय गरिने उनले बताए।
सरकारका कामको व्यवस्थित स्वामित्व, पार्टी निर्माणको काम, समाजवादी मोर्चा र पार्टी एकताको प्रयासलाई सँगसँगै अघि बढाइने दाहालको भनाइ थियो। “हाम्रो पहलमा समाजवादी मोर्चा घोषणा गरिएको छ। समाजवादी मोर्चाले समाजवादको आधार निर्माणका लागि काम गर्नेछ,” दाहालले भने, “पूर्व माओवादी पनि छलफलमा छौं। फेरि पार्टी एकताको आधार निर्माण हुँदै छ। पार्टी एकताको लागि ठोस पहल अगाडि बढाउँछौं।” -रासस