मूलपानीको नाम ‘जयकुमारनाथ शाह’ क्रिकेट मैदान
नेपाल क्रिकेट संघ (क्यान)ले मूलपानी क्रिकेट मैदानको नाम परिवर्तन गरेको छ।
क्यानको बैठकले मूलपानीको नाम पूर्व अध्यक्ष जयकुमारनाथ शाहको नामबाट राख्ने निर्णय गरेको हो। अब ‘जयकुमारनाथ शाह (जेकेएनएस) मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदान’ नामकरण गरिएको छ।
पूर्व अध्यक्ष शाहको सम्मानमा नामकरण गर्ने निर्णय भएको क्यानले जनाएको छ। नेपालमा दरबारभित्र सीमित क्रिकेटलाई शाहले नै आमनागरिकको पहुँचमा ल्याएका थिए।
उनले नै क्यानलाई साझा संस्थाका रूपमा विकास गरेका थिए। शाहकै नेतृत्वमा नेपाल सन् १९८८ मा आईसीसीको एफिलिएटेड सदस्य बनेको थियो भने एशोसिएट सदस्यमा बढुवा भएकै वर्ष १९९६ मा नेपालले पहिलो पटक मलेशियामा एसीसी ट्रफी खेलेको थियो।
त्यस्तै, क्यानको बैठकले जिल्ला र प्रदेश अधिवेशनको पनि मिति तय गरेको छ। साउन मसान्तसम्म जिल्ला अधिवेशन र भदौ २० सम्म प्रदेश अधिवेशन गरिसक्ने निर्णय गरेको छ। केन्द्रीय निर्वाचन भने आउँदो असोज ५ र ६ गते हुने भएको छ।