वर्षाले कहाँ कहाँ भएको छ सडक अवरुद्ध?
बाढी र पहिरोले क्षति हुँदा देशका विभिन्न भूभागका नौ वटा राजमार्ग अवरुद्ध छन्।
वर्षाका कारण पहिरो जाँदा नारायणगढ-मुग्लिन सडक शनिबार बिहानैदेखि अवरुद्ध छ। चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित तीन किलोमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो।
यसअघि पनि पहिरो जाँदा १८ घन्टा अवरुद्ध भएको थियो। पहिरो पन्छाएर शुक्रबार साँझ मात्रै सञ्चालनमा आएको सडक फेरि अवरुद्ध भएको हो।
त्यस्तै, मेची राजमार्ग, तमोर करिडोर र कोशी राजमार्ग एक सातादेखि अवरुद्ध छन्। बाढी र पहिरोले सडकमा क्षति पुर्याएकाले यातायात अवरुद्ध रहेको सडक विभागले जनाएको छ।
विभागका अनुसार आज बिहानदेखि मात्रै पाँच वटा राजमार्ग अवरुद्ध छन्। धैरेनीमा सडक अवरुद्ध हुँदा मेची राजमार्ग, प्यूठानको सिमलचौरमा सडक अवरुद्ध हुँदा भालुवाङ-लिवाङ-रोल्पा सडक, म्याग्दीको तातोपानीमा सडक अवरुद्ध हुँदा तानसेन-रिडी-कोरला राजमार्गमा यातायात सञ्चालन हुन सकेको छैन।
त्यस्तै, पाल्पाको शेरामा सडक अवरुद्ध हुँदा सिद्धार्थ राजमार्ग र सल्यानको कपुरकोटमा पहिरो जाँदा राप्ती राजमार्गमा बिहानैदेखि यातायात सञ्चालन हुन सकेको छैन।
सबै स्थानमा पहिरो पन्छाउने काम भइरहेको सडक विभागले जनाएको छ। केही स्थानमा छिट्टै एकतर्फी भए पनि यातायात सञ्चालन गर्ने प्रयास भइरहेको छ भने केही स्थानमा समय लाग्ने जनाइएको छ।