तिनाउ नदीमा बाढी, खतराको सङ्केत पार
बुटवल, पाल्पा र आसपासको क्षेत्रमा अत्यधिक वर्षा हुँदा तिनाउ नदीमा बाढी आएको छ भने पानीको सतहले खतराको स्तर नाघेको छ।
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बिहानैदेखि बुटवल, पाल्पा र आसपासको क्षेत्रमा अत्यधिक वर्षा भइरहेको छ।
जसले गर्दा तिनाउ नदीमा बाढी आएको छ। तिनाउ नदीले बुटवलमा खतराको सङ्केत पार गरेको छ।
बुटवलस्थित बाढी मापन केन्द्रका अनुसार पानीको सतह ६.८८ मिटर पुगेको छ। जबकि, ५.६ मिटरलाई खतराको स्तर मानिएको छ।
पछिल्लो तीन घन्टायता तिनाउ जलाधारको बुटवल, पाल्पा र आसपासको क्षेत्रमा भारी वर्षा भइरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
जलसतहले खतराको स्तर पार गरेकाले तिनाउ नदीको तटीय क्षेत्रमा आज दिउँसो ३ बजेसम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।