पहिरोले नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध
नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो खस्दा फेरि यातायात अवरुद्ध भएको छ।
चितवनको इच्छाकामना गाउँपालिका-५ तीन किलोमा आज बिहान पहिरो खसेको प्रहरीले जनाएको छ। त्यही स्थानमा बिहीबार मध्याह्न पनि पहिरो खसेको थियो।
पहिरो पन्छाउन दुई दिन लागेको थियो। बिहीबारदेखि अवरुद्ध सडक शुक्रबार साँझ ५ बजेबाट मात्र सञ्चालनमा आएको थियो।
त्यही ठाउँमा आज बिहान पुनः पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनले जनाएको छ। २८ घण्टा लगाएर पहिरो पन्छाएसँगै रोकिएका सवारी साधन गन्तव्यतर्फ गइरहेका थिए।
पुनः पहिरो खसेसँगै सवारीसाधान रोकिएका छन् भने यात्रु अलपत्र परेका छन्। यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी आवतजावत गर्छन्।
पहिरो पन्छाउने काम शुरू गरिएको छ। पहिरो पन्छाउन समय लाग्ने प्रहरीले जनाएको छ।