सबै राजनीतिक दलबाट असल संसदीय अभ्यासको अपेक्षा गरेको छु: सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले संसद्मा उपस्थित सबै राजनीतिक दल र सदस्यबाट असल संवैधानिक र संसदीय अभ्यासको अपेक्षा गरेको बताएका छन्।
संसद् दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै सभामुख घिमिरेले बहुदलीय व्यवस्थामा राजनीतिक दल नै संवैधानिक र संसदीय अभ्यासका असल सञ्चालक भएको उल्लेख गरेका छन्। उनले राजनीतिक दलहरूको आपसी सद्भाव, सहमति र समन्वयमा नै संसद्को गतिशीलता र क्रियाशीलता निर्भर रहने जनाएका छन्।
उनले संसद् दिवसले संघीय संसद्का सदस्य, संविधानसभा सदस्य, पूर्व सांसद, संसद् सचिवालय लगायत राष्ट्रसेवक कर्मचारी वर्ग एवं आमनेपाली जनतामा संसदीय लोकतन्त्रको रक्षा र सुदृढीकरणका लागि प्रेरणा मिलोस् भन्ने कामना समेत गरेका छन्।
संसद् दिवसका अवसरमा मुलुकमा लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि विगतमा पटक पटक गरिएका लोकतान्त्रिक आन्दोलनमा आफ्नो प्राणको आहुति दिनुहुने सम्पूर्ण ज्ञात-अज्ञात वीर शहीदप्रति श्रद्धा अर्पण गरेका छन्। यससँगै शहीदको समर्पण, साहस र बलिदानको स्मरण गर्दै संसद् जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक महत्त्वपूर्ण संस्थाका रूपमा अविच्छिन्न स्थापित गर्न प्रेरणा मिलोस् भन्ने कामना गरेका छन्।
नेपालमा २०१६ असार १६ गते संसद्को पहिलो बैठक बसेको ऐतिहासिक दिनको स्मरण गर्दै बर्सेनि संसद् दिवस मनाइँदै आएको छ। दिवसको अवसरमा जनताप्रतिको उत्तरदायित्व र जवाफदेहीलाई सदैव आफ्नो पथप्रदर्शकका रूपमा आत्मसात् गर्नु सबैको प्राथमिक दायित्व हुनुपर्नेमा सभामुख घिमिरेको जोड छ।
घिमिरेले भनेका छन्, “नेपालको संविधानले अङ्गीकार गरेको जनतामा निहित सार्वभौमसत्ताको प्रयोग गर्दै नेपाली जनताले आवधिक निर्वाचनबाट जननिर्वाचित सर्वोच्च संस्था संसद्मा प्रतिनिधि चयन गर्दै आएका छन्।” -रासस