स्वर्गद्वारी : आस्थाको द्वार
धार्मिकसँगै प्राकृतिक सौन्दर्यको संगम हो, प्यूठानको स्वर्गद्वारी । पुराण अनुसार पाँचपाण्डवले स्वर्ग जाँदा अन्तिममा प्रयोग गरेको बाटो मानिंदै स्वर्गद्वारी नाम रहन गएको हो ।
जिल्ला सदरमुकाम खलंगा बजारबाट स्वर्गद्वारी मन्दिर करीब २६ किलोमिटर पश्चिममा पर्छ ।
एक शताब्दी भन्दा अघिदेखि निरन्तर बलिरहेको मानिने धुनी स्वर्गद्वारीको प्रमुख आकर्षण हो ।
विक्रम संवत् १९५२ मा महाप्रभु नारायण गौतमले स्वर्गद्वारीमा आश्रम स्थापना गर्दै विश्व शान्तिको कामना सहित अखण्ड महायज्ञ आयोजना गरेको समयदेखि नै उक्त धुनी बलिरहेको मानिन्छ ।
स्वर्गद्वारी तीर्थाटनका क्रममा उक्त ऐतिहासिक धुनीका साथै गुफा र पाण्डवहरू स्वर्ग गएको बाटोको दर्शन गर्नाले पुण्य प्राप्त हुने र स्वर्गको ढोका खुल्ने धार्मिक विश्वास छ । यहाँ हरेक वर्षको वैशाख पूर्णिमामा मेला लाग्छ ।
मन्दिर परिसरमा सयौंको संख्यामा गाईपालन समेत गरिएको छ । स्वर्गद्वारी आश्रम व्यवस्थापन समितिले मन्दिरमा निश्चित समयमा आउने भक्तजनलाई खाना र बासको प्रबन्ध मिलाउने गर्छ ।
यो मन्दिर भारतीय तीर्थालुका लागि पनि आस्थाको केन्द्र हो । भारतबाट हरेक वर्ष एक लाखभन्दा बढी भक्तजन आउने गरेको आश्रम व्यवस्थापन समितिले जनाएको छ । स्वर्गद्वारी जाने तीर्थालु प्रकृतिको मोहनीमा पनि डुब्न पाउँछन् । यहाँबाट धौलागिरि, अन्नपूर्ण, मनास्लु लगायत हिमाल हेर्न सकिन्छ ।
कसरी पुग्ने ?
काठमाडौंबाट रोल्पा जाने बस चढेर प्यूठानको भिङ्ग्रीमा ओर्लने, भिङ्ग्रीबाट तीन घण्टाको पैदल यात्रापछि स्वर्गद्वारी मन्दिर पुगिन्छ ।
निजी सवारी साधन स्वर्गद्वारीसम्मै लैजान सकिन्छ । दाङको घोराहीबाट पनि स्वर्गद्वारीसम्म बस चल्छन् ।