डेढ करोड ठगीको आरोपमा पूर्व सांसद पक्राउ
पप्पु कन्स्ट्रक्शनका सञ्चालक हरिनारायण रौनियारलाई एक करोड ६५ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
रौनियारले बाँकेमा अवस्थित जय भोले बाबा कन्स्ट्रक्शन उद्योग किनबेच गर्दा शुभराम यादवलाई ठगी गरेको आरोप छ। २०७६ माघमा उद्योगका प्रबन्ध निर्देशक रौनियार र यादवबीच खरीद सम्झौता भएको बाँकेका प्रहरी उपरीक्षक (एसपी) सन्तोषसिंह राठौरले बताए।
यादवबाट रकम लिए पनि उद्योगको स्वामित्व नामसारी भने भएन। जिल्ला अदालत, बाँकेले खरीद सम्झौता अगाडि नै उक्त कम्पनी किनबेच रोक्का गर्न आदेश दिएको खुलेपछि यादवको रकम पनि फिर्ता नभएको र उद्योगको स्वामित्व पनि हस्तान्तरण नभएको राठौरले बताए।
त्यसपछि यादवले रौनियार विरुद्ध ठगीको जाहेरी दिएपछि पक्राउ परेका हुन्। रौनियारलाई असार १५ मा काठमाडौंबाट पक्राउ गरिएको छ।
रौनियार पूर्व सांसद समेत हुन्। उनी २०७४ सालमा पर्सा-३ बाट संघीय समाजवादी फोरमबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए।
रौनियारलाई २०७९ वैशाखमा विशेष अदालतले बबई पुल निर्माणमा भ्रष्टाचार गरेको आरोपमा दोषी ठहर गर्दै साढे तीन करोड रुपैयाँ जरिवानाको फैसला गरेको थियो। यो मुद्दामा दुवै पक्षबाट सर्वोच्च अदालतमा पुनरावेदन परेपछि विचाराधीन छ।