‘कोशीको आन्दोलन अराजक बन्दै गएको छ’
नेपाल सरकारका प्रवक्ता रेखा शर्माले कोशी नामकरण विरोधी आन्दोलन अराजक बन्दै गएको आरोप लगाएकी छन्।
सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्माले असार १५ गते मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा आन्दोलन अराजक बन्दै गएको विषयलाई सरकारले गम्भीर रूपमा लिएको बताइन्।
“आन्दोलन गर्न नपाउने भन्ने होइन, तर आन्दोलन गर्ने पनि एउटा तरीका हुन्छ,” प्रवक्ता शर्माले भनिन्, “जुन ढङ्गले अराजकता वा उत्कर्षतर्फ जान खोजेको छ, त्यस्तोमा जानु हुँदैन र यो विषयमा सरकार गम्भीर छ।”
लोकतन्त्रमा सबैले आफ्नो अधिकार खोज्न पाउने तर त्यो बहानामा कसैलाई पनि जिल्ला प्रवेशमा रोक लगाउन नहुने उनको भनाइ थियो। उनले भनिन्, “लोकतन्त्रमा आफ्नो अधिकारको पक्षपोषण गर्न सबैले पाउँछन्। तर, कसैलाई जिल्ला प्रवेश गर्न नदिने भन्ने कुरा आफैंमा राम्रो होइन। त्यस्तो कसैले पनि गर्नु हुँदैन।”
उनले सरकार कोशी नामकरणको विवाद सम्बन्धी समस्याको निकास खोज्ने विषयमा पनि गम्भीर रहेको बताइन्।