नेपाली उत्पादन प्राइम-टाइल्स् बजारमा
प्राइम सेरामिक्स् प्रालिले प्राइम-टाइल्स् विथ स्टाइललाई बजारमा ल्याएको छ।
भुइँ र भित्ताका लागि सबै प्रकारको टायल उत्पादन गर्ने यो नेपालको पहिलो र सबैभन्दा ठूलो टायल कम्पनी हो। आकर्षक डिजाइनयुक्त टायलको उत्पादनद्वारा टायल बजारलाई नै पुन:परिभाषित गर्ने सोच सहित कम्पनीले नेपालमा नै सबै प्रकारका टायल उत्पादन थालेको दाबी गरेको छ।
रौतहटस्थित बृन्दावन नगरपालिका-६ मा १० बिघा क्षेत्रफलमा इटालियन प्रविधिको उद्योग स्थापना भएको छ। सेरामिक प्रविधिमा अब्बल इटालियन बहुराष्ट्रिय कम्पनी सास्मीको प्रविधि मार्फत टायल निर्माण गरिएकाले अन्य अन्तर्राष्ट्रिय ब्रान्डसँग प्रतिस्पर्धा गर्न सक्ने कम्पनीले दाबी छ।
नेपालमा वार्षिक १५ अर्ब रुपैयाँ बराबरको टायल आयात हुँदै आएको छ। चर्को ढुवानी खर्च, उच्च भन्सार दर र अतिरिक्त खर्चका कारण आमनेपाली उपभोक्ताका लागि टायल अत्यधिक महँगो र पहुँच बाहिर रहेको पृष्ठभूमिमा यो उद्योगले देशको कुल खपतको लगभग एकचौथाइ माग पूरा गर्ने दाबी गरिएको छ।
आयात प्रतिस्थापन गर्ने, विदेशी मुद्रा बाहिरिनबाट रोक्ने, रोजगारीको सिर्जना गर्ने तथा स्वदेशी माटो र अन्य कच्चा पदार्थको प्रयोग गरी आयातीत टायलभन्दा १५-२० प्रतिशत सस्तो मूल्यमा टायल उपलब्ध गराउने कम्पनीले जनाएको छ।
उपभोक्ताले चाहेको वेला टायलको माग गर्न सक्ने, आर्किटेक्ट एवं डिजाइनरले आफ्नो चाहना अनुसारको डिजाइन समेत विकास गर्न सक्ने तथा मूल्य पनि सस्तो हुने भएकाले यो उद्योग नेपाली बजारका लागि महत्त्वपूर्ण रहेको कम्पनीको भनाइ छ। उद्योगले घरायसी, व्यापारिक, पूर्वाधार परियोजना तथा सार्वजनिक स्थल आदिमा प्रयोगका लागि २५० भन्दा बढी डिजाइनको टायल उत्पादन गर्नेछ।
सएमएस ग्रूप र फर्चुन भेन्चर्सद्वारा प्रवर्द्धित प्राइम सेरामिक्स् प्रालिले उद्योगमा दुई अर्ब रुपैयाँ लगानी गरेको छ। दैनिक डेढ लाख वर्गफिट उत्पादन क्षमता रहेको यस उद्योगले ३०० लाई रोजगारी दिएको जनाएको छ।