रोपाइँको रमाइलो (तस्वीरहरू)
आज असार १५ अर्थात् धान दिवस देशभर रोपाइँ गरेर मनाइएको छ।
राष्ट्रिय धान दिवसका अवसरमा देशभर विभिन्न कार्यक्रम पनि गरिएका छन्। यो वर्षको धान दिवसमा ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने नारा दिइएको छ।
धान हरेक नेपालीको आर्थिक, सामाजिक तथा सांस्कृतिक जीवनसँग गाँसिएको छ। जन्मेदेखि मृत्युसम्मका कर्ममा तथा वर्षभरि मनाइने विभिन्न चाडपर्वमा समेत धानको प्रयोग अपरिहार्य हुने गरेको छ।
मानो रोपेर मुरी उब्जाउने महीनाको मध्य अर्थात् असार १५ गतेलाई रोपाइँ जात्रा, हिलो खेल्ने, दहीचिउरा खाने दिन जस्ता नामले पनि मनाउने चलन छ। असारे भाकामा लोकदोहोरी गीत गाउँदै, हिलो छ्यापाछ्याप गर्दै धान रोपिन्छ। आजको दिनलाई दहीचिउरा खाने पर्वका रूपमा पनि लिने गरिन्छ।