नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा
नेपाल समूह विजेता बन्दै एसीसी यू-१६ मेन्स इस्टर्न रिजन कप-२०२३ को सेमिफाइनलमा प्रवेश गरेको छ।
घरेलु टोली मलेशियालाई ८४ रनले पराजित गर्दै नेपाल सेमिफाइनलमा पुगेको हो। नेपालले दिएको १८४ रनको लक्ष्य पछ्याउने क्रममा मलेशिया ३०.५ ओभरमा ९९ रनमै समेटियो।
मलेशियाका लागि मोहम्मद हरिलले २५, मोहम्मद आलिफले १५, मोहम्मद अक्रमले १२ र अरीन अकीलले १० रन बनाए। अन्य खेलाडीले दोहोरो अङ्क पनि जोड्न सकेनन्।
नेपालका लागि अशोक धामीले चार, अभिषेक तिवारीले तीन, सन्तोष यादवले दुई र क्रितिक कामतले एक विकेट लिए। नेपालका लागि अर्धशतकसँगै चार विकेट लिएका धामी प्लेयर अफ द म्याच भए।
यसअघि नेपालले ३३.४ ओभरमा सबै विकेट गुमाएर १८३ रन बनाएको थियो। नेपालका लागि अशोक धामीले ५२, सुर्यान्शु कोइराला र नरेनले २९-२९ तथा क्रितिक कामतले १६ र दिपु कुमारले १५ रन बनाएका थिए।
मलेशियाका लागि हजिक हैकल, मोहम्मद अक्रम, अरीन अकील र मोहम्मद मुक्रीले दुई-दुई तथा मोहम्मद फत्रीले एक विकेट लिएका थिए।
यो जितसँगै नेपाल चार अङ्क जोडेर समूह विजेता बनेको छ। यसअघि थाइल्यान्डलाई हराएको थियो।
समूह ‘ए’ बाट नेपाल र मलेशिया तथा समूह ‘बी’ बाट हङकङ र सिंगापुर सेमिफाइनलमा पुगेका छन्। अब नेपालले फाइनल प्रवेशका लागि सिंगापुरसँग प्रतिस्पर्धा गर्नेछ।