पहिरोले नारायणगढ-मुग्लिन सहित पाँच राजमार्ग अवरुद्ध
बाढी तथा पहिरोले नारायणगढ-मुग्लिन सहित देशका विभिन्न भागमा पाँच वटा राजमार्ग अवरुद्ध भएका छन्।
सडक विभागका अनुसार पहिरो खसेपछि बिहीबारदेखि नारायणगढ-मुग्लिन सडक अवरुद्ध छ। चितवनको इच्छाकामना गाउँपालिका-५, तीन नम्बर पुलमा पहिरो खसेको हो।
पहिरो खस्ने क्रम जारी रहेकाले पन्छाउन नसकिएको इलाका प्रहरी कार्यालय, मुग्लिनका प्रहरी निरीक्षक विशाल तामाङले बताए। पहिरो झरेर पहाड जस्तै बनेको र पन्छाउन केही घन्टा लाग्ने तामाङले बताए। उनले भने, “आज दिनभर पहिरो पन्छाएर पनि सडक सञ्चालन गर्न सक्ने अवस्था छैन।”
सडकमा गाडीको लामो लाइन लागेको छ। सयौं यात्रु समस्यामा परेका छन्। काठमाडौंबाट भरतपुरतर्फ आएका सवारीसाधन मुग्लिन र कुरिनटार क्षेत्रमा रोकिएका छन् भने नारायणगढबाट काठमाडौं, पोखरातर्फ जाँदै गरेका सवारीसाधन जलबिरे क्षेत्रमा रोकिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
आज यात्रा गर्ने यात्रुलाई वैकल्पिक राजमार्ग प्रयोग गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ। बर्खा लागेसँगै नारायणगढ-मुग्लिन सडकखण्डमा पटक पटक पहिरो जाने र बाटो बन्द हुने गरेको छ।
त्यस्तै, बाढीले गर्दा मेची राजमार्ग पनि अवरुद्ध बनेको छ। पाँचथरको हेवाखोलाको पुल बाढीले बगाएपछि सडक अवरुद्ध भएको हो।
पाँचथरको माझीटारमा बाढीले क्षति हुँदा तमोर करिडोर पनि अवरुद्ध छ। जसले गर्दा चतरा-मूलघाट-माझीटार-अमरापुरडाँडा-गणेशचोक सडकखण्ड अवरुद्ध भएको हो।
संखुवासभाको हाइटारमा बाढीले क्षति पुर्याउँदा कोशी राजमार्ग अवरुद्ध छ। जसले गर्दा रानी-विराटनगर-इटहरी-धरान-धनकुटा-हिले तथा लेघुवाघाट-तुम्लिङटार-खाँदबारी आवतजावत गर्ने यात्रुलाई कठिनाइ भइरहेको छ।
यसैगरी, म्याग्दीको बैसरीमा बाढीपहिरोले क्षति हुँदा तानसेन-रिडी-कोरला सडक अवरुद्ध रहेको सडक विभागले जनाएको छ। पाँचै स्थानमा सडक सञ्चालनका लागि मर्मतसम्भारको काम भइरहेको विभागले जनाएको छ।