यी हुन् पद्मश्री साहित्य पुरस्कारको उत्कृष्ट विस्तारित सूचीमा परेका १५ पुस्तक
खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले २०६३ सालदेखि बर्सेनि प्रदान गर्दै आएको पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट १५ पुस्तकको सूची तयार भएको छ।
पद्मश्री साहित्य पुरस्कार-२०७९ को उत्कृष्ट विस्तारित सूची सार्वजनिक भएको छ। २०७९ सालमा प्रकाशित पुस्तकहरूमध्ये खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानलाई प्राप्त १८० पुस्तकबाट उत्कृष्ट १५ को सूची तयार भएको हो।
प्रतिष्ठानले विसं २०६३ सालदेखि वर्षभरि प्रकाशित नेपाली साहित्यिक पुस्तकमध्ये उत्कृष्टलाई पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दै आएको छ। त्यसका लागि पहिलो चरणमा १५ पुस्तकको उत्कृष्ट विस्तारित सूची सार्वजनिक गर्ने, दोस्रो चरणमा उत्कृष्ट संक्षिप्त सूची सार्वजनिक गर्ने र अन्तिम चरणमा पुरस्कृत पुस्तक घोषणा गर्ने गरिन्छ।
प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेद्वारा जारी प्रेस विज्ञप्तिमा जानुका खतिवडाको आतोओडा, सुबिन भट्टराईको इजोरिया, विवेक ओझाको ऐंठन, गोपी सापकोटाको चिसो बाफ, प्रगति राईको थाङ्ग्रा विस्तारित सूचीमा परेको उल्लेख छ।
यस्तै, रमेश क्षितिजको पर्वतपर्वतमा बटुवा घाम, सुरेश प्राञ्जलीको पानीघट्ट, शैलेन्द्र अधिकारीको ब्रह्मास्त्र, रामलाल जोशीको बाआमा, प्रोल्लास सिन्धुलीयको भग्न भैरव पनि उक्त सूचीमा छन्।
यसैगरी, देवीप्रसाद सुवेदीको मनु, प्रदीप रोदनको मफलर, हरिबोल काफ्लेको यशोधरा, नवराज केसीको शून्यको मूल्य र अशोक थापाको सन्तापको धून पनि विस्तारित सूचीमा अटाएका छन्।