जलहरीबारे ओलीले भने- मसँग सम्बन्धित विषय होइन
पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पशुपतिनाथको जलहरीको विषय आफूसँग सम्बन्धित नभएको बताएका छन्।
भरतपुर विमानस्थलमा बिहीबार साँझ सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष ओलीले त्यो पशुपति क्षेत्र विकास कोषसँग सम्बन्धित भएको बताए। “सुन भनेर पित्तल चढाएको रहेछ छ र?” ओलीले भने, “खाएको भए पनि मसँग सम्बन्धित विषय होइन। मैले त पैसा दिने हो, त्यहाँको पशुपति क्षेत्र विकास कोषलाई।”
जलहरीमा नाम कुँदिएको विषयमा पनि सञ्चारकर्मीले प्रश्न गरेका थिए। त्यसको जवाफमा अध्यक्ष ओलीले प्रतिप्रश्न गरे, “शिलान्यास, उद्घाटन गर्नेको नाम कुँदिएको हुन्छ कि हुँदैन? सरकारी भवन कसका नाममा छन्? त्रिभुवन विश्वविद्यालय त्रिभुवनको निजी खर्चबाट बनाएको हो र? अथवा वीरेन्द्र अस्पताल वीरेन्द्रको निजी खर्चबाट बनाएको हो र?”
पशुपतिको जलहरीमा नाम राख्ने विषयमा आफूलाई नसोधिएको बताए। “मैले थाहा पाउने कुरा होइन,” ओलीले प्रश्न गरे, “मैले लगेर टाँस्या हो त्यहाँ नाम? मलाई सोधेर टाँसेको हो?”
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तौलेपछि सबै छर्लङ्ग भएको उनको भनाइ थियो। पहिले सुनका ठाउँमा पित्तल राखेको भनेर हल्ला चलाएको र त्यसपछि ११ किलो सुन कम राखिएको भनेर हल्ला गरिएको उनको भनाइ थियो। अहिले तौलिएर सत्यतथ्य बाहिर आएपछि नामका विषयलाई लिएर हल्ला गरिन थालेको उनले बताए।