पन्ध्र सय वर्ष पुरानो पात्र जात्रा शुरू
काठमाडौंको गोरक्षनाथपीठ मृगस्थलीबाट पन्ध्र सय वर्ष पुरानो जात्रा शुरू भएको छ।
बिहीबार हरिशयनी एकादशीका दिन मृगस्थलीबाट पात्र देउताको जात्रा प्रारम्भ भएको हो। यो देवताको पूजन भ्रमण विधिबाट हुने गरेको बृहद आध्यात्मिक परिषदका महासचिव योगी डा. दयानाथले बताए।
गोरक्षनाथपीठका महन्थ श्रीषनाथको अगुवाइमा शुरू भएको जात्रा रसुवाको गोसाइँकुण्ड पुग्नेछ। यो पुरानोमध्येको एक जात्रा भएको महन्थ श्रीषनाथको भनाइ छ। उनका अनुसार ५२२ सालमा राजा नरेन्द्र देवको पालामा गोरखनाथ एकै स्थानमा ध्यानमग्न थिए।
त्यसपछि जात्रा शुरू भएको पाइएको महन्थ श्रीषनाथले बताए। गोरखनाथको मूर्ति र पादुका गोरक्षपीठमा रहेको छ।
आजबाट शुरू भएको जात्रा हनुमानढोकामा पुग्नेछ। त्यसपछि बालाजु, रामपौवा, बट्टार, लहरेपौवा, कालिकास्थान हुँदै रसुवाको धुन्चे, चन्दनबारी, लौरीविनायक पुग्नेछ। जनैपूर्णिमाका दिन गोसाइँकुण्ड पुगेर पूजन हुनेछ।
गोसाइँकुण्डबाट फिर्ता भएपछि शारदीय नवरात्र इन्दिरा एकादशीमा चक्रपूजा गरिनेछ। त्यसको भोलिपल्ट गोरक्षनाथपीठमै पुग्ने उनले बताए।