“व्यवस्थाको कमजोरी देखाउनुपर्यो भने ‘नीरफूल-२’ आउन पनि सक्छ”
‘पहिला पहिला दर्शकलाई हलमा जे लाग्यो त्यही मात्र हेर्ने अवसर थियो। त्यसैकारण हामीले लामो समयदेखि हिन्दी चलचित्र नक्कल गर्यौं। अब दर्शक झुक्याउन सकिंदैन। दर्शकको चेतनास्तर कहाँदेखि कहाँ पुगिसक्यो।’
केही साताअघि प्रदर्शनमा आएको चलचित्र नीरफूलका निर्देशक हुन्- फूलमान बल। पत्रकार हुँदै उनी अहिले नेपाल टेलिभिजनका महाप्रबन्धक छन्। उनै बलसँग हिमालखबरको विशेष संवादमा उर्मिला गम्वा थारूले चलचित्र नीरफूल, यसका विम्ब, समीक्षा, दोस्रो भाग लगायत विषयमा गरेको कुराकानीको सम्पादित अंश।
पत्रकारिताबाट चलचित्र निर्देशनमा पुग्नुभयो, नयाँ क्षेत्रमा सहज/असहज के हुने रहेछ?
पत्रकारितामा सूचनासँग खेलेर आमजनतालाई सूचित गर्नुपर्छ। चलचित्रमा चाहिं एउटा सिर्जना मार्फत मान्छेका संवेदना, चाहना, भावना, भावहरूलाई छोएर अभिव्यक्त गर्नुपर्छ। त्यसकारण पत्रकारिता र चलचित्रका केही गुण उस्तै भए पनि क्षेत्र चाहिं अलि फरक नै हो। त्यसैले विधागत हिसाबबाट ज्ञान हासिल गर्ने, अभ्यास गर्ने काम गर्नुपर्छ।
यसप्रति शुरूदेखि नै मेरो लगाव भएकाले खासै असहज भन्ने भएन। नीरफूलभन्दा अगाडि पनि मैले सन् २००६ मा सेलफोन लघु चलचित्र बनाएको थिए। त्यो चाहिं विभिन्न राष्ट्रिय, अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा प्रदर्शन भएको थियो। विभिन्न पुरस्कार पनि पाएको थियो। त्यसपछि नै मलाई ‘फिचर फिल्म’ पनि गर्नुपर्छ भन्ने लागेको थियो।
नीरफूल म पत्रकारितामा सक्रिय भएकै वेला बनाएको हो। भुइँचालो लगत्तै छायाङ्कनमा गएका थियौं। बीचमा कोरोनाले गर्दा तीन वर्ष यसको प्रदर्शन रोकिएको हो।
नीरफूलबारे कस्तो प्रतिक्रिया पाइरहनुभएको छ?
दर्शकबाट आएको प्रतिक्रिया एकदमै सकारात्मक छ। नेपाली चलचित्र जगत्मा सामाजिक विषयवस्तु नआएको, एकैखाले विषयमा मात्र काम भइरहेको भन्ने आरोप लागिराखेको थियो। नीरफूलले यसलाई चिर्ने काम गरिरहेको छ।
नीरफूल मार्फत दिन खोजिएको सन्देश के हो?
दर्शकहरूको आ-आफ्नो दृष्टिकोण हुन्छ। सोचाइको सापेक्षता हुन्छ। जस्तो- एउटा निर्देशकले जे सोचेर बनाएको भए पनि दर्शकले त्यसलाई फरक ढङ्गले ग्रहण गर्न सक्छन्। फरक भूगोल, फरक संस्कृति, फरक उमेर समूहका दर्शकले फरक ढङ्गबाट ग्रहण गर्छन्। एउटै कवितालाई पनि पाठकै पिच्छेे फरक ढङ्गले व्याख्या गरिन्छ।
नीरफूलको हिसाबबाट हेर्दा भुइँचालोपछि जुन पीडा हामीले बेहोर्यौं त्यो अवस्था चलचित्रमा देखाउन खोजिएको हो। खासमा यो परिवारको कथा हो, परिवार हराएको कथा हो। प्रेममा हुर्किरहेको एउटा परिवारलाई प्राकृतिक प्रकोपले तहसनहस बनाएको, ती परिवारलाई छुट्याइदिएको र उनीहरूले एकअर्कालाई भेट्न प्रयत्न गरेको कथा हो।
यो कथाको धागोभित्र हाम्रो व्यवस्थाको कर्तव्य र त्यसको खराबी एउटा नागरिकको आँखाबाट भन्ने काम गरेको छु। विशेषगरी व्यवस्था र भुइँमान्छेबीचको दूरी कति छ भन्ने देखाउन खोजेको छु।
यो त मेरो धारणा हो। चलचित्र हेर्ने दर्शकले आआफ्नो ढङ्गले बुझेका छन्। कसैले परिवारको कथा भनेका छन्, कसैले रुबी भ्यालीको गज्जबको संस्कृति भनेका छन्, कतै तामाङ समुदायको कथा, तामाङ संस्कृति भन्ने कुरा पनि आयो। कसैले चाहिं यो राजनीतिक मुद्दालाई विम्बात्मक माध्यमबाट गज्जबले प्रहार गरेको भन्ने प्रतिक्रिया दिएका छन्।
भुइँमान्छे र राज्यसत्ताको सम्बन्ध कसरी देखाउनुभएको छ?
सर्जकहरू प्रायः राज्यसत्ता विरुद्ध नै हुन्छन्। साहित्यकार, चलचित्रकर्मी, संस्कृतिकर्मीहरू संस्थापनको कमजोरी औंल्याउने गर्छन् नै।
नीरफूलको कोणबाट हेर्दा- प्रजातन्त्र, सशस्त्र विद्रोह हुँदै लोकतान्त्रिक गणतन्त्र र नयाँ संविधान जस्ता राजनीतिक उपलब्धि हासिल गर्दागर्दै पनि जनता कहाँ छुटे? हाम्रो व्यवस्थाले गर्ने काम कस्तो छ? भन्ने जस्ता प्रश्नको जवाफ ल्याउने कोशिश गरेको छु।
हामीले व्यवस्थामा रङ लगाउन कोशिश त गर्यौं, तर नट कस्ने पेचकिलाहरू त पहिल्यैदेखि खिया लागेका छन्। हाम्रो संस्कार उही छ। शासकको मनोवृत्ति उस्तै छ।
नीरफूलमा एउटा व्यक्तिले सिंहदरबारभित्र जानका लागि गरेको प्रयत्न छ। सिंहदरबार भनेको शक्तिको प्रतिविम्ब हो। सिंहदरबार भनेको सरकार मात्र होइन, सत्ता हो।
त्यो दृश्य मार्फत राजनीतिक उपलब्धि भए पनि भुइँमान्छेलाई सम्बोधन गर्न सकिएको छ कि छैन भनेर प्रश्न गरेको हो।
चलचित्रमा तामाङ भाषा, जीवनशैली, संस्कृति देखाउनुभएको छ। यस्ता चलचित्रले लगानी र आम्दानीका हिसाबले कस्तो चुनौती सामना गर्नुपर्ने रहेछ?
नीरफूल तामाङ पात्रहरूले गरेको संघर्ष हो। गणेश हिमालको काखमा धादिङको रुबी भ्यालीमा खिचिएको छ। तर, त्यताको दृश्य ३३ प्रतिशत मात्र छ। बाँकी त काठमाडौं नै छ, जसलाई मूलधार भनिराखेका हुन्छौं। त्यसमा सभासद् छन्, सचिव छन्, अनेक पात्रहरू छन्।
यो हिसाबले पूरै तामाङ संस्कृतिभन्दा पनि तामाङ संस्कृतिको एउटा सुन्दर पाटो ल्याउन खोजिएको छ। तामाङ पात्रहरूको सानो हिस्सालाई समेट्ने प्रयत्न गरेका छौं।
तामाङ भाषाको प्रयोग स्क्रिप्टको माग हो। चलचित्रको शुरूमा तामाङ भाषा आउँछ १५/२० मिनेट। त्यसमा नेपाली सबटाइटल राखेका छौं। त्यसको आवश्यकता पनि किन पर्यो भने भाषाकै कारण बच्ची हराएको कथा भएकाले।
नीरफूलमा चाहिं बजारिया रुचिभन्दा फरक ढङ्गबाट कथा प्रस्तुत गरिएको छ। यो पनि लगानी र आम्दानीका हिसाबले जोखिम हो। तर, अहिले दर्शकले जस्तो प्रतिक्रिया दिइराख्नुभएको छ, माया गरिराख्नुभएको छ, त्यो हेरेर हाम्रो दर्शकको ‘फिल्म लिटरेसी’ त बढेको भन्ने बुझिन्छ। अर्थात् मैले बढी जोखिम मोल्नु परेन।
हाम्रोमा कमेडी, मान्छेलाई गाली गर्ने, अपाच्य भाषा, डायलगबाजी भयो भने बजारमा चल्छ भन्ने बुझाइ छ। तर, दर्शकले यथार्थपरक ढङ्गबाट काम भएको छ कि छैन, सामाजिक मुद्दा उठाइएको छ कि छैन भनेर हेर्ने रहेछन्।
म हरेक स्रष्टाको अस्तित्व हुन्छ, आफ्नोपन हुन्छ भन्ने कुरामा विश्वास गर्छु। सफल हुने र नहुने कुरा पनि आफ्नोपन कति देखाइयो भन्नेमा भर पर्छ।
पहिला पहिला त दर्शक झुक्याउन पनि सकिन्थ्यो। किनकि दर्शकलाई हलमा जे लाग्यो त्यही मात्र हेर्ने अवसर थियो। त्यसैकारण हामीले लामो समयदेखि हिन्दी चलचित्रको नक्कल गर्यौं। अब दर्शक झुक्याउन सकिंदैन। दर्शकको चेतनास्तर कहाँदेखि कहाँ पुगिसक्यो, हाम्रो चलचित्र बनाउने ढर्रा चाहिं पुरानै छ। त्यही भएर नेपाली चलचित्र चल्ने भनेको वर्षमा एउटा-दुईटा मात्र हो।
तामाङ शब्दको कुरा गर्दा चलचित्रमा रुबी भ्यालीलाई ‘पाङसाङ’ भनिएको छ। यसको अर्थ त्यो स्थान थोपरिएको नाम नभई स्थानीय नामबाटै चिनिनुपर्छ भन्ने तपाईंको मत हो?
प्रजातन्त्र भनेको के हो त? हामीले कुनै पनि नाम राख्दा त्यहाँको स्थानीय विश्वास, पद्धति, परम्परा, इतिहासका आधारमा राख्ने हो। कोही फिरन्तेले भयङ्कर हावा चल्ने ठाउँमा पुगेर त्यसलाई बतासे डाँडा भनिदिंदैमा त्यो ठाउँको नाम बतासे डाँडा हुन्छ?
मेरै गाउँ ‘आधाबाट’ को नाममा यस्तो भएको छ। आधाबाटको अर्थ के हो? खासमा त यसको अर्थ नै छैन नि। स्थानीय तामाङ भाषामा गाउँको नाम ‘दहुनाङ गाङ’ हो। अर्थात् पीपल चौतारी भएको डाँडो। यसलाई किन आधाबाट बनाइयो त भन्दा कोही फिरन्तेले जाँदै गर्दा आधी बाटो पुगियो भनेर ‘आधाबाटो’ नाम राखिदियो। अब तामाङहरूले उच्चारण गर्न जानेनन्, अनि यो ‘आधाबाट’ भयो। गणतन्त्रपछि पनि यसरी थुप्रै स्थानको नामकरण भएको छ।
रुबी भ्यालीको कुरा गर्दा यो आफैंमा सुन्दर नाम हो। राजा महेन्द्रकै पालामा म्यानमारबाट विशेषज्ञ ल्याएर त्यहाँ उत्खनन गर्दा रुबी भेटिएपछि यसलाई ‘रुबी भ्याली’ भनियो। तर, स्थानीय नाम अर्कै छ। तिप्लिङ, पाङसाङ, झार्लाङ जस्ता स्थानीय नाम भएका स्थान रुबी भ्याली अन्तर्गत पर्छन्।
चलचित्रमा मैले शासन गर्नेले कसरी धारणा निर्माण गर्छ भन्ने कुरालाई व्यङ्ग्य गर्न यस्तो गरेको हुँ।
देवतालाई नीरफूल चढ्दैन, तर चलचित्रमा चढाउनुभएको छ। नीरफूललाई केको प्रतिविम्ब ठानेर यसो गर्नुभएको हो?
तामाङ समुदायका दुई वटा सभ्यता छन्। पूर्वी र पश्चिमी। पश्चिम भनेको काठमाडौंभन्दा पश्चिम र पूर्व भनेको चाहिं काठमाडौंभन्दा पूर्व हो। रुबी भ्यालीतिर चाहिं भगवान्लाई नीलो फूल चढाउने चलन रहेनछ। काठमाडौंमा पनि हिन्दू समुदायमा बाटोतिर फुल्ने, असारमा फुल्ने लहरे फूलको नीलो फूल भगवान्लाई चढाउनु हुन्न भन्ने मान्यता रहेछ।
यो किन हो भन्ने त थाहा भएन। तथापि मैले चलचित्रमा ‘नीलो’ लाई विम्बका रूपमा प्रयोग गरें। नीलो आफैंमा दुःखको रङ हो, आँसुको रङ हो। र, नीरफूल पनि दुःखको कथा भएकाले नीलोको विम्ब प्रयोग गरेको हुँ।
मैले चलचित्रमा नीलो फूल नचढ्ने तामाङ समुदायको विश्वास समातें र अन्तिममा अब चलाउनुपर्छ भनें।
यसलाई विभिन्न कोणबाट हेरियो। चलिआएको संस्कृतिलाई तोडमोड गर्न खोजिएको हो कि भनेर पनि संशय गरियो। अर्को चाहिं- तामाङ समुदाय आफैंमा नीलो फूल हो, राज्यले बनाएको नीलो फूल हो, भगवान्लाई नचढ्ने नीलो फूल हो भन्ने आयो।
यसका केही कारण छन्। जस्तो- तामाङ समुदायलाई पहिलो मुलुकी ऐनमा मासिन्या मतवाली भनेर राखियो। अर्थात् मार्दा पनि कानून नलाग्ने, काम लगाउँदा ज्याला दिनुनपर्ने, पढ्न नपाउने, सेना, प्रहरी तथा निजामतीमा जान नपाउने।
सेनामा पनि पिपा, गोसारो, गुल्मो भनेर तामाङ मात्र केन्द्रित भएर बनाएको समूहमा भारी बोक्न मात्र लगाए। इतिहासमा तामाङ समुदायमाथि यस्तो व्यवहार हुनु आफैंमा नीलो फूल हो।
नीलो फूल चलाउनुमा अब यो समुदाय पनि मूलधारमा आउनुपर्छ भन्ने हो भनेर एक खालको तर्क पनि आयो। तर, मैले निर्देशकको हिसाबले त्यसरी सोचेको थिइनँ।
मैले दुःखका फूलहरू अब चल्नुपर्छ, त्यसलाई सुखको फूल बनाउनुपर्छ भनेर सोचेको थिएँ।
अर्कातर्फ भूकम्प आफैंमा दुःखको कथा हो। त्यही भएर भूकम्पको नीलो फूलमा अल्झिनु हुँदैन, अब सुखतिर जानुपर्छ, सकारात्मकतातिर जानुपर्छ भनेर विम्बात्मक रूपमा प्रस्तुत गरेको हुँ।
तपाईं त चलचित्र समीक्षक पनि। अहिले आफ्नै चलचित्रमा चर्को समीक्षा भइरहेको छ। समीक्षा, आलोचना जस्ता कुरालाई कसरी लिनुहुन्छ?
सिर्जनालाई आलोचनात्मक भएर हेरिनुपर्छ। तर, आलोचना गर्नलाई पनि आलोचनात्मक चेत भने हुनुपर्छ। जब तपाईं चलचित्रको विषयवस्तु चिरफार गर्न सक्षम हुनुहुन्छ त्यति वेला मात्र सिर्जनात्मक आलोचना हुन्छ। नत्र त्यो टिप्पणी गाली मात्र हुन्छ। हाम्रो फिल्म क्षेत्रको प्राज्ञिक तह कहाँसम्मको छ भन्ने हामीलाई थाहै छ।
मेरो सिर्जनालाई पनि आलोचनात्मक हिसाबले हेरिनुपर्छ। कुनै पनि सिर्जना शतप्रतिशत अब्बल हुँदैन। सबैले प्रयास गर्ने हो। फेरि मान्छेले एउटै चलचित्रबाट ‘अस्कर’ पायो भने पनि सकियो। उसले अरू बाँकी गर्दैन।
हरेक सिर्जनाको आफ्नो सापेक्षता हुन्छ। नीरफूलको सन्दर्भमा पनि समीक्षा निष्पक्ष हुन सकेको छैन। जस्तो- कथा एकदमै ठीक छ, अभिनय ठीक छ, तर पटकथा कमजोर भनियो। अनि संवाद चाहिं गज्जब भनियो।
तर, चलचित्रमा संवाद त महत्त्वपूर्ण भएन नि। भावबाट भन्न सकिएन, ध्वनिबाट भन्न सकिएन, अरू केहीबाट भन्न सकिएन भने बल्ल संवादको सहारा लिने हो नि।
बरु चलचित्रमा द्वन्द्वको स्तर पो कमजोर छ कि?
मैले चलचित्रको कथा साधारण रूपमा ‘थ्री एक्ट’ मा भनें। यो हाम्रो ढाँचा होइन। त्यसमाथि तामाङ समुदायको कथा भएकाले तामाङ समुदायको विश्वास पद्धति त्यही ढङ्गबाट भन्नुपर्थ्यो होला। तर, मैले साधारण तरीकाले कथा किन भनें भने यो तामाङ समुदायको कथा हो। तामाङ समुदाय सरल र सोझो छ। यो तामाङ समुदायको अनुहार हेरेपछि बुझिन्छ। अनुहार जे छ, मन त्यही छ।
मेरो चलचित्रमाथि समीक्षा गर्दा यो यो कमजोरी छ भनिदिनुपर्यो। चिरफार गरिदिनुपर्यो। कुनै मान्छे बिरामी छ भने उसको मिर्गौला बिग्रेको छ कि फोक्सो बिग्रेको छ, भन्नुपर्यो नि।
फिल्म नजान्ने मान्छेले समीक्षा गरेर पटकथा कमजोर छ भनेका छन्। समाजशास्त्र, मानवशास्त्रका विद्यार्थीले, कविले फिल्म बुझ्छन्? लेखक त होला, तर लेखकले फिल्म बुझ्छ? फिल्म समीक्षा भनिरहँदा फिल्मको ज्ञान हुनु परेन?
पटकथा भनेको छ, ढाँचा थाहा पाउनु परेन? कथावाचन बुझ्नु परेन? समीक्षकको पहिचान चाहिं बाहिर अभियन्ता हो, अनि फिल्ममाथि लेखेको छ। त्यसरी लेख्ने नैतिक हक चाहिं छैन। सांस्कृतिक विश्लेषण गर्न सक्छ, समाजशास्त्रीय विश्लेषण गर्न सक्छ, तर ढाँचामा तयार पटकथा कमजोर भन्ने हक छैन। त्यस्तो पनि देखियो। यो ठूलो अनैतिक काम हो।
दर्शकले राम्रो-नराम्रो भन्न पाए, तर समीक्षकको हिसाबले भन्न पाइँदैन। पहिचान सहित खुलेर समीक्षक भनेर आउँदा ऊसँग चलचित्र समीक्षाको ज्ञान हुनुपर्यो।
चलचित्र हेर्दा दोस्रो भाग पनि आउँछ कि भन्ने लाग्छ। नीरफूल-२ आउने सम्भावना कत्तिको छ?
मान्छेले परम्परागत रूपमा जसरी काम गरेको छ, त्यसैगरी गर्नुपर्छ भन्ने छैन। यहाँ त अनेक खालको सिक्वल बनेका छन्। सात सिक्वलसम्म पनि आएको छ।
नीरफूल हेरेपछि धेरै दर्शकले बच्ची भेटिएको तर आमा नभेटिएको बताए। दर्शकलाई चलचित्र हेर्दै जाँदा आमा भेटिए हुन्थ्यो भन्ने महसूस हुन्छ। गाउँ पुगिसक्दा पनि आमा भेटिन्छिन् कि क्या हो भन्ने हुन्छ। आमा त पहिल्यै गाउँ गएर बसेकी छन् कि भन्ने हुन्छ।
यिनै आमा नभेटिएकाले नीरफूल-२ आउँछ कि भनिएको हो। तर, नीरफूल-२ नआउन पनि सक्छ। आमा नभेटिएको कथा सेमि-रियलिस्टिक भयो, गर्न खोजको चाहिं रियलिस्टिक थियो। यसमा चाहिं ओभर ड्रामा गर्ने छूट छैन। हाम्रो व्यवस्था यति सजिलो छ? हाम्रो व्यवस्थाले हराएको मान्छे यति सजिलै फ्याट्ट भेटिन्छ?
आमा सजिलै भेटिन्नन्। उनी प्रणालीको कुनै न कुनै फन्दामा छिन्।
मैले नेपाललाई ‘केयर होम’ भनेको छु। देश सुधार केन्द्रभित्र छ। इन्जेक्सन दिइएको छ। यो पनि एक प्रकारको सङ्केत हो।
भुइँमान्छेलाई राज्यले कसरी ‘इन्जेक्ट’ गरिरहेको छ? राज्यले सीमान्तीकृतलाई कसरी लिएको छ? यी प्रश्न मैले सर्जक भएर बोलेको हुँ।
चलचित्रको शुरूमा भएको १५-२० मिनेटको तामाङ भाषा पनि नियतवश हालिएको हो। अरूको भाषा नजान्दाको समस्या कस्तो हुन्छ भन्ने महसूस गराउन खोजिएको हो। यो पीडा दर्शकले महसूस गर्न सके भने बल्ल मेरो पात्रको लक्ष्यलाई न्याय हुन्छ। त्यो हिसाबबाट यसलाई प्रयोग गरेको हुँ।
त्यसकारण यदि फेरि व्यवस्थाको कमजोरी देखाउनुपर्यो भने नीरफूल-२ आउन पनि सक्छ।