भ्याटको असर: आलु किलोको ७० र प्याज ८० रुपैयाँ
सरकारले बजेट मार्फत विदेशबाट आयात हुने तरकारीजन्य सामानमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएपछि भारतसँगको सीमावर्ती क्षेत्रमा तरकारीको मूल्य आकाशिएको छ भने व्यापारी आन्दोलनमा उत्रिएका छन्।
आन्दोलनमा उत्रिएका व्यापारीले आलु, प्याजको आयात बन्द गरेका छन्। यससँगै उनीहरूले बिक्रीवितरण रोकेका छन्। जसले गर्दा जनकपुरमा आलु र प्याजको मोल आकाशिएको छ।
जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले आलु र प्याजको पर्याप्त उत्पादन नहुँदै भ्याट लगाउने कामले व्यापारीसँगै उपभोक्ता मर्कामा परेको बताए। महासेठले भने, “आलु तथा प्याजमा लगाइएको भ्याटका कारणले आमजनता थप करको बोझमा परेको र व्यवसायीको व्यापार व्यवसायमा नकारात्मक असर परेको छ।”
अहिले जनकपुरमा आलुको मूल्य प्रतिकिलो ७० रुपैयाँ र प्याज प्रतिकिलो ८० रुपैयाँ पुगेको छ। करका कारण मूल्य बढेको र अझै बढ्न सक्ने व्यापारी बताउँछन्।
भ्याटका सीमावर्ती क्षेत्रमा तरकारीको मूल्य आकासिँदा उपभोक्ता मर्कामा परेका छन्। जबकि, स्थानीय उत्पादनले पुग्ने पहाडी भेगका शहरी क्षेत्रमा भने तराई-मधेशभन्दा आधा सस्तो छ। काठमाडौंको कालिमाटी फलफूल तथा तरकारी बजारमा बिहीबार आलु प्रतिकिलो ४० रुपैयाँ र प्याज प्रतिकिलो ३५ रुपैयाँमा कारोबार भइरहेको छ।
मूल्य बढेपछि सीमा क्षेत्रका उपभोक्ता पनि भारतीय सीमावर्ती क्षेत्रबाट किनमेल गर्न थालेका छन्। अर्कातिर चोरी निकासी पनि बढ्दै गएको छ।
जसले गर्दा बिक्रीवितरण कम हुँदै गएपछि आन्दोलनमा उत्रिनुपरेको आलुप्याज व्यवसाय संघ जनकपुरधामका अध्यक्ष अलाउद्दीन राईनले बताए। उपभोक्ता दैनिक उपभोग्य वस्तु ल्याउन सीमावर्ती भारतीय शहरमा गइरहेको र कर लगाएका कारण मूल्य पनि बढेकाले व्यापार चौपट भएको अध्यक्ष राईनको भनाइ छ।
अहिले प्याजमा प्रतिकिलो १३ र आलुमा प्रतिकिलो आठ रुपैयाँ भन्सार तिर्नुपर्दा महँगो भएको उनले बताए। “आलुप्याज गोदाममै सड्ने अवस्था आएको छ,” उनले भने।
मधेश प्रदेशमा २४ हजार ४०० हेक्टरमा आलुखेती हुने गरेको छ। जसबाट तीन लाख ७७ हजार मेट्रिक टन आलु उत्पादन हुन्छ। मधेश प्रदेशको सप्तरीमा सबैभन्दा बढी आलु उत्पादन हुने गरेको छ।
किसानले उत्पादन गर्ने आलुलाई लामो समय जोगाइराख्न भण्डारणको अभाव छ। प्रदेशमा उत्पादित आलुले मुश्किलले ६ महीना धान्छ। जसले गर्दा भारतबाट आलु ल्याउनुको विकल्प छैन। जनकपुरधाम बजारमा १७ थोक विक्रेता मार्फत दैनिक १५० टन आलुप्याज बिक्री हुँदै आएको थियो।
अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट मार्फत तरकारी तथा फलफूल सहित १७० वस्तुको आयातमा मूल्य अभिवृद्धि कर लगाउने घोषणा गरेका थिए। जुन जेठ १६ गतेबाटै लागू भइसकेको छ।