गुणस्तर परीक्षण गरेर मात्र औषधि बिक्री गर्न विभागको निर्देशन
औषधि व्यवस्था विभागले गुणस्तरमा शङ्का लागेमा परीक्षण गरेर मात्र बिक्रीवितरण गर्न औषधि पसललाई निर्देशन दिएको छ।
विभागका महानिर्देशक नारायणप्रसाद ढकालले औषधिको गुणस्तरका सम्बन्धमा विभागमा जनगुनासो आएकाले सबै अस्पतालका औषधि पसललाई गुणस्तर परीक्षण गरेर मात्रै बिक्री वितरण गर्न निर्देशन दिइएको बताए।
“विभिन्न अस्पतालमा सञ्चालित फार्मेसीबाट बिक्रीवितरण हुने औषधिको गुणस्तरीयताको सम्बन्धमा यस विभागमा जनगुनासो प्राप्त भएका छन्,” महानिर्देशक ढकालले भने, “औषधि ऐन, २०५३ को दफा १२ अनुरूप औषधि सुरक्षित, असरमुक्त र गुणयुक्त हुनुपर्ने व्यवस्था रहेकाले सबै अस्पतालमा सञ्चालित फार्मेसीले औषधिको खरीद तथा बिक्रीवितरण गर्दा परीक्षण गराउनुपर्नेछ।”
महानिर्देशक ढकालले औषधिको गुणस्तर यकीन गरेर सम्बन्धित निकायलाई जानकारी गराउनुपर्ने बताए। औषधि वितरक तथा औषधि पसल सञ्चालक नागरिकको स्वास्थ्यप्रति जिम्मेवार बन्दै गुणस्तरीय औषधि सेवन गर्ने नागरिकको अधिकारलाई सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ।